‘भमरा’ बन्यो वर्षको उत्कृष्ट गीत, क्वालिटी इन्टरटेनमेन्ट अवार्ड सम्पन्न

0 Shares

‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ आइतबार बेलुका काठमाडौँको जमलस्थित नाचघरमा सम्पन्न भएको छ। विभिन्न विधामा कलाकार तथा स्रष्टालाई अवार्ड प्रदान गरिएको समारोहमा ‘भमरा’ले वर्षको उत्कृष्ट गीतको अवार्ड जित्यो।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बज्रेश खनालले उद्घाटन गरेको समारोहमा विभिन्न अतिथि, फिल्मकर्मी तथा कलाकारले विजेतालाई अवार्ड प्रदान गरेका थिए।

आधुनिक गीततर्फ ‘कति रोए’बाट मीरा तामाङ उत्कृष्ट गीतकार घोषित भइन्। ‘हिजो आज’बाट डा. निरञ्जन भण्डारी उत्कृष्ट संगीतकार बने भने ‘ढाँटेको हैन’बाट तिलक बस्नेत र मेलिना राईले क्रमशः उत्कृष्ट गायक तथा गायिकाको अवार्ड जिते।

म्युजिक भिडियोतर्फ ‘गाउँघरे माया’बाट दीप गुरुङ उत्कृष्ट निर्देशक बने। ‘सगरै तरेर’बाट एस राज गराचले पुरुष मोडलको अवार्ड जित्दा ‘भमरा’बाट शीतल तामाङ उत्कृष्ट महिला मोडल बनिन्। नृत्य निर्देशनतर्फ ‘परेवा जोडी’बाट सोनाम लामा र जुरी अवार्ड ‘भमरा’बाट जोन राईले प्राप्त गरे।

लोकदोहोरी विधामा ‘लालीगुराँस फुलेको’बाट रवि राना उत्कृष्ट गायक र ‘फूलको थुँगा’बाट दुर्गा गुरुङ उत्कृष्ट गायिका घोषित भए। ‘दशैँतिहारको’बाट अमरराज पुनले उत्कृष्ट लोकदोहोरी गीतकारको अवार्ड जिते।

मौलिक गीततर्फ ‘जाउँ न सानु’बाट पवन गुरुङ उत्कृष्ट गायक बने। ‘दमौलीमा झारा है’बाट ओम छिनालले उत्कृष्ट मौलिक गीत गीतकारको अवार्ड प्राप्त गरे। देउडा विधामा ‘सम्रै लागि’बाट गोपाल दयाल र कौडा गीततर्फ ‘झुल्के घाम’बाट सुवास गुरुङ उत्कृष्ट गायक बने।

नवप्रतिभातर्फ विभिन्न भाषिक तथा सांस्कृतिक विधाका कलाकारलाई सम्मान गरिएको थियो। समारोहमा म्युजिक भिडियोका मोडल, छायाकार, सम्पादक, मेकअप आर्टिस्ट तथा अन्य विधाका स्रष्टाले पनि अवार्ड प्राप्त गरे। सेलो गीततर्फ ‘धर्तीकी परी’बाट विक्रम लामा र तीज गीततर्फ ‘भकारीको धान’बाट कुलबहादुर ओली उत्कृष्ट गायक बने।

कार्यक्रममा डम्फु वादन, दसैँ गीतमा नृत्य तथा विभिन्न सांगीतिक प्रस्तुतिले मनोरञ्जन प्रदान गरेका थिए।

क्वालिटी फिल्म्सका अध्यक्ष तथा फिल्म निर्देशक उमेश गुरुङका अनुसार नेपाली गीतसंगीतको प्रवर्द्धनका लागि विगत छ वर्षदेखि अवार्ड आयोजना हुँदै आएको छ। कुलपति खनालले आगामी वर्षदेखि प्रतिष्ठानका तर्फबाट कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित समाचार

सबै