बहुप्रतीक्षित फिल्म ‘कबड्डी–५’को ट्रेलर सार्वजनिक भएको छ। आगामी कात्तिक ५ गते रिलिज हुने फिल्मको ट्रेलर आज आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा प्रेम र सुखको चाहनामा पटक–पटक असफल हुँदै आएका काजी यसपटक भने आत्ममूल्यांकन गर्दै परिवर्तनको बाटोमा अघि बढेको देखाइएको छ।
यसक्रममा उनका विगतका एकतर्फी प्रेमका पात्र मैयाँहरूसँगको भेट र नयाँ सोल्टिनीको प्रवेशले कथालाई थप रोचक बनाएको छ। ट्रेलरले यी पात्रमार्फत दर्शकलाई आकर्षित गर्ने प्रयास गरेको देखिन्छ।
ट्रेलरले फिल्म अघिल्ला शृङ्खलाजस्तै मनोरञ्जनले भरिपूर्ण हुने संकेत गरेको छ। रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा विपिन कार्कीको प्रवेशले कथानकमा थप रोमाञ्चकता ल्याउने अपेक्षा पनि ट्रेलरले जगाएको छ।
फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, मिरुना मगर, रिश्मा गुरुङ, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, अरुणा कार्की र कमलमणि नेपाललगायत कलाकारको अभिनय रहेको छ।