तेस्रो दिनमै ‘कबड्डी ५’ सुपरहिट

0 Shares

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले प्रदर्शनको सुरुवाती दिनमै बक्स अफिसमा बलियो पकड बनाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले प्रदर्शनको तेस्रो दिन आइतबारदेखि फिल्मलाई सुपरहिटको ट्याग दिएको छ।

क्युएफएक्सका नौ सहरस्थित १७ वटा हलमा प्रदर्शन भइरहेको फिल्मले दुई दिनमा डेढ करोड रुपैयाँ कमाइ गरेको बताइएको छ। यही व्यापारका आधारमा क्युएफएक्सले फिल्मलाई सुपरहिटको ट्याग दिएको हो।

फिल्मप्रति दर्शकको आकर्षण बढेसँगै शो संख्या पनि उल्लेख्य रहेको छ। क्युएफएक्सले आइतबार फिल्मलाई ७० भन्दा बढी शो उपलब्ध गराएको छ भने निर्माण टिमका अनुसार देशभर फिल्मका शो संख्या ३०० नाघेको छ। अधिकांश शो दर्शकले भरिएका छन्।

शुक्रबार, कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिनदेखि नै आक्रामक व्यापार गरिरहेको निर्माण टिमको दाबी छ। टिमले दुई दिनमै फिल्मको कुल व्यापार तीन करोड रुपैयाँभन्दा माथि पुगेको अनुमान गरेको छ।

व्यापारसँगै फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पनि पाइरहेको छ। फिल्मका कलाकार, निर्देशक र निर्माताहरू विभिन्न सहरका हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन्। दर्शकले फिल्मका मुख्य कलाकारको प्रस्तुति र काजीको विवाहको कथालाई विशेष रूपमा रुचाएको निर्माण पक्षले जनाएको छ।

दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायत कलाकारको अभिनय रहेको फिल्ममा अन्य कलाकार पनि सहभागी छन्।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको यस फिल्मका निर्देशक रामबाबु गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्माता छन्।

सम्बन्धित समाचार

सबै