‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’ को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार गीतको भिडियो सार्वजनिक गरेको हो।
गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको छ। सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा एसडी योगीले संगीत निर्देशन, मिक्सिङ तथा मास्टरिङ गरेका छन्। रिकेश गुरुङको संगीत संयोजन रहेको गीतमा रत्न बीकले बाँसुरी, मदन रेग्मीले मादल तथा खैँजडी, शिशिर परियारले पञ्चेबाजा र हेमन्त कान्छा रसाइलीले सारङ्गी बजाएका छन्। गीतको रेकर्डिङ तथा मिक्सिङ सुपरभिजन सागर खड्काले गरेका हुन्।
प्रेमी–प्रेमिकाबीचको गहिरो प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा उपासना सिंह ठकुरी, सोनम तोप्देन, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकार देखिएका छन्। भिडियोमा सोनम र उपासनाको जोडी सुहाएको छ भने अन्य कलाकारको पहिरन र हाउभाउले पनि दृश्यलाई स्वाभाविक र रमाइलो बनाएको छ।
यसअघि फिल्मका ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीत सार्वजनिक भइसकेका छन्। दुवै गीतले युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाएका छन्। तेस्रो गीतले पनि दर्शक तथा स्रोताको माया पाउनेमा निर्माण पक्ष विश्वस्त छ।
फिल्म आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ। ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो। निर्देशक अशोक थापा मगरका अनुसार फिल्ममा यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राख्दै मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनालाई कथामा समेटिएको छ।
फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायतको अभिनय रहेको छ। क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन् भने मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर बालकलाकारका रूपमा छन्। यसै फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्। फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछन्।