अर्थमन्त्री स्वर्णिममाथि राजेश हमालको कडा टिप्पणी : ‘राष्ट्रको स्वाभिमानमा सम्झौता स्वीकार्य छैन’

0 Shares

काठमाडौं । अभिनेता राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाएका छन्। नेपालको परराष्ट्र नीतिको आधार राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र कूटनीतिक मर्यादा भएको उल्लेख गर्दै हमालले कुनै पनि पदाधिकारीले व्यक्तिगत धारणा वा राजनीतिक स्वार्थका आधारमा मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति दिन नहुने बताएका छन्।

हमालले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले नेपालको लामो समयदेखिको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको जग नै कमजोर पार्ने जोखिम रहेको टिप्पणी गरेका छन्। उनले यस्तो अभिव्यक्तिले नेपालको सार्वभौमिकताको गरिमा कमजोर पार्नुका साथै नेपाल–भारत सम्बन्धको ऐतिहासिक महत्त्वलाई समेत हल्का बनाउने बताएका छन्।

हमालका पिता पनि विभिन्न मुलुकमा नेपाली राजदूतका रूपमा कार्यरत रहेका थिए। कूटनीतिक पृष्ठभूमिसँग पारिवारिक सम्बन्धसमेत रहेका हमालले नेपाल–भारत सम्बन्धलाई व्यक्तिगत तुष्टीकरण वा सार्वजनिक उपहासको विषय बनाउन नहुने धारणा राखेका छन्।

‘नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमिकता, गरिमा र दीर्घकालीन सिद्धान्तमा आधारित विषय हो। यो कुनै व्यक्तिको व्यक्तिगत विवेक वा राजनीतिक सुविधाअनुसार चल्ने विषय होइन,’ हमालको भनाइको आशय छ।

उनले भारतसँगको सम्बन्धलाई भूगोल, इतिहास, संस्कृति र जनस्तरको सम्बन्धले जोडेको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने हरेक इमानदार प्रयासलाई स्वागत गर्नुपर्ने बताएका छन्। तर, त्यसका लागि नेपालको प्रतिनिधित्व गर्ने व्यक्तिहरूले कूटनीतिक विवेक, सन्तुलन र राष्ट्रिय स्वाभिमानलाई उत्तिकै महत्त्व दिनुपर्ने उनको जोड छ।

हमालले नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमा गहिरो र रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई व्यक्तिगत ताबेदारी वा विवाद निम्त्याउने अभिव्यक्तिमा सीमित गर्न नहुने बताएका छन्। दुई देशबीचको सम्बन्धमा सीमा विवाद र आर्थिक निर्भरताजस्ता जटिल विषयसमेत रहेको स्मरण गराउँदै उनले यस्ता विषयमा सरकारले स्पष्ट, सुसंगत र जिम्मेवार धारणा राख्नुपर्ने बताएका छन्।

उनका अनुसार राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकारले स्थापित कूटनीतिक माध्यम, प्रमाण र मैत्रीपूर्ण संवादलाई प्राथमिकता दिनुपर्छ। केवल भाषणबाजी र देखावटी अभिव्यक्तिले दीर्घकालीन सम्बन्धलाई बलियो बनाउन नसक्ने उनको तर्क छ।

‘छिमेकीसँगको मित्रता र आफ्नो सार्वभौमिकताप्रतिको प्रतिबद्धता एकअर्काका विरोधी होइनन्, यी परिपूरक जिम्मेवारी हुन्,’ हमालले आफ्नो धारणा स्पष्ट पारेका छन्।

भारतसँग मित्रवत् सम्बन्ध कायम राख्दै नेपालले आफ्नो स्वतन्त्र पहिचान र राष्ट्रिय हितमा दृढ रहन सक्नुपर्ने उनको निष्कर्ष छ।

पढ्नुस्,  राजेश हमालले अंग्रेजीमा लेखेको पोस्टको नेपाली भावानुवाद

अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय कार्यादेशको सीमा नाघेको देखिन्छ। उनले दिएका अभिव्यक्तिले नेपालको लामो समयदेखि कायम सिद्धान्तमा आधारित परराष्ट्र नीतिको आधार नै विकृत पार्ने जोखिम उत्पन्न गरेका छन्। यस्तो चाकरीपूर्ण रवैयाले हाम्रो सार्वभौमिकताको गरिमा कमजोर पार्नुका साथै नेपाल र भारतबीच दुवै देशले उच्च सम्मानका साथ कायम राख्दै आएको दीर्घकालीन सम्बन्धकै उपहास गर्छ।

नेपालको परराष्ट्र नीति निरन्तर राष्ट्रिय सार्वभौमिकता, गरिमा र दीर्घकालीन सिद्धान्तको विषय रहँदै आएको छ। यो व्यक्तिगत विवेक वा राजनीतिक स्वार्थअनुकूल चल्ने विषय हुनु हुँदैन। कुनै पनि पदाधिकारीले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा कमजोर बनाउने अभिव्यक्ति वा सर्तहरू प्रस्तुत गरेर यी आधारभूत मान्यतामा सम्झौता गर्नु हुँदैन।

नेपाल–भारत सम्बन्ध सधैँ भूगोल, इतिहास, संस्कृति र जनस्तरको सम्बन्धमा गहिरोसँग जरा गाडेर रहेको छ। यस सम्बन्धलाई सुदृढ बनाउनु स्वाभाविक र आवश्यक दुवै हो। हाम्रो सम्बन्धका यी पक्षहरूले हामीलाई अन्य कुनै पनि दुई राष्ट्रभन्दा विशिष्ट रूपमा एकअर्कासँग जोड्छन्। त्यसैले, यस देशको नागरिकका रूपमा म हाम्रा प्रमुख छिमेकीसँगको सम्बन्ध अझ सुदृढ बनाउन गरिने हरेक इमानदार प्रयासलाई स्वागत गर्नुपर्छ भन्ने दृढ विश्वास राख्छु। तर, सँगसँगै हामी हाम्रा प्रतिनिधिहरूले उचित कूटनीतिक विवेक प्रयोग गरून् र हाम्रो राष्ट्रिय अडानलाई आवश्यक गरिमा तथा सन्तुलनका साथ प्रस्तुत गरून् भन्ने अपेक्षा पनि गर्छौँ।

नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमा अत्यन्त महत्त्वपूर्ण र रणनीतिक रूपमा संवेदनशील छ। यसलाई व्यक्तिगत चाकरीका हाउभाउ वा सार्वजनिक उपहास निम्त्याउने अभिव्यक्तिमा सीमित गर्नु हुँदैन…

हाम्रो सम्बन्ध बलियो आधारमा स्थापित भए पनि यससँग हाम्रो आफ्नै ऐतिहासिक अनुभव, समाधान हुन बाँकी सीमा विवाद र आर्थिक निर्भरताजस्ता विषयहरू पनि जोडिएका छन्। त्यसैले, वर्तमान सरकारले आफ्नो अडान स्पष्टता र निरन्तरताका साथ प्रस्तुत गर्नु विशेष महत्त्वपूर्ण छ। यसका लागि बयानबाजी र देखावटी प्रतिबद्धताभन्दा स्थापित कूटनीतिक माध्यम, प्रमाण र मैत्रीपूर्ण संवादलाई प्राथमिकता दिनुपर्छ।

छिमेकीसँगको मित्रता र आफ्नो सार्वभौमिकताप्रतिको निष्ठा एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्। यी त एकअर्काका परिपूरक जिम्मेवारी हुन्। नेपाल एक स्वतन्त्र राष्ट्र भएकै कारण आफ्नो पहिचानप्रति विश्वस्त र राष्ट्रिय हितबारे स्पष्ट रहँदै भरपर्दो साझेदार बन्न सक्छ, र बनेको पनि छ।

 

सम्बन्धित समाचार

सबै