पीयूष मिश्रा र एलेक्स पारसबाट सुरु भयो ‘कलेजी’को छायांकन

0 Shares

काठमाडौं । ‘ऊनको स्वीटर’को भावनात्मक संसारलाई नयाँ कथासहित अघि बढाउन निर्देशक नवीन चौहानले ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु गरेका छन्। सिक्किमको युमथाङ उपत्यकाबाट छायांकन थालिएको फिल्मको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्य खिचिएका छन्।

निर्देशक चौहानले स्थानीय लामा गुरुहरूको मन्त्र उच्चारणसहित शुभ मुहूर्त गरेर छायांकन सुरु गरिएको जानकारी दिएका छन्। शुभारम्भका अवसरमा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरू उपस्थित थिए।

‘ऊनको स्वीटर’ले दर्शकको मनमा छोडेका कथा र पात्रलाई फराकिलो परिवेशमा विस्तार गर्ने उद्देश्यले सिक्वेल बनाउन लागिएको चौहानले बताएका छन्। काफ्ले, फूल, डम्बर र ईक्क्षाका कथालाई अघि बढाउँदै नयाँ फिल्मले प्रेम, जीवन र मानवीय संवेदनाका थप पक्ष उजागर गर्ने उनको भनाइ छ।

“केही कथा बाँकी छन्, केही अनुभूति अझै भन्न बाँकी छन्,” चौहानले भनेका छन्।

आर्टमाण्डुको ब्यानरमा निर्माण हुने फिल्मको लेखन तथा निर्देशन चौहानकै रहनेछ। अभिषेक सुवेदी सहलेखक तथा प्रमुख सहायक निर्देशक छन्। चिन्तन राजभण्डारीले छायांकन र कोविद बज्रले संगीतको जिम्मेवारी सम्हाल्नेछन्।

फिल्ममा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई र रुश्मा राईलगायत कलाकार छन्।

नेपालसँगै दार्जिलिङ, सिक्किम र दिल्लीमा छायांकन गर्ने योजना रहेको ‘कलेजी–ऊनको स्वीटर’को प्रदर्शन मिति भने तय भइसकेको छैन।

सम्बन्धित समाचार

सबै