काठमाडौं । फिल्म ‘पाँच पाण्डव’ले प्रदर्शनअघि ‘दाजु भाइजस्ता हुँदैनन् अरू’ बोलको गीत सार्वजनिक गरेको छ। कात्तिक २० गते रिलिज हुने फिल्मको गीतले दाजुभाइबीचको सम्बन्ध र एकताको भावलाई केन्द्रमा राखेको छ।
सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र डा. कृष्णहरि बरालको शब्द छ। गीतको भिडियोमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलालाई देखाइएको छ। गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडियो श्याम तामाङले खिचेका हुन्। अन्तिम दृश्यमा इभा गिरी द्रौपदीको भूमिकामा देखिन्छिन्।
वसन्त निरौलाले निर्देशन गरेको फिल्म सामाजिक ड्रामा हो। लेखक सुशील पौडेलका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा फिल्ममा प्रस्तुत गरिएको छ।
काली रानी फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया र प्रशान्त ताम्राकारलगायत कलाकार पनि छन्। नवीन श्रेष्ठ प्रस्तुतकर्ता र काली रानी श्रेष्ठ निर्माता रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।