‘जलाकी’ अमेरिका र क्यानडामा पनि प्रदर्शन हुने

0 Shares

अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’को अमेरिका र क्यानडामा प्रदर्शन हुने पक्का भएको छ। ‘खुस्मा’पछि निर्देशनमा उनको दोस्रो सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार पिएनएम एलएलसीले खरिद गरेको हो। दुवै देशमा प्रदर्शनको मिति भने वितरक र निर्माताको आपसी छलफलपछि तय हुनेछ।

मंसिर ४ गतेदेखि नेपालमा प्रदर्शन हुने तयारीमा रहेको ‘जलाकी’ले सार्वजनिक गीत र टिजरमार्फत दर्शकको ध्यान तानिरहेको छ। सिनेमाका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीत सार्वजनिक भइसकेका छन्। तीमध्ये ‘चाँदी जलप’ले टिकटकमा विशेष चर्चा पाएको छ। उक्त गीतमा १० लाखभन्दा बढी भिडियो बनेका छन्। अन्य गीत पनि रिल्स र सर्ट्समा लोकप्रिय छन्।

मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, आस्था र भावनालाई कथाको केन्द्रमा राखिएको सिनेमाको नामसमेत सांस्कृतिक प्रतीकसँग जोडिएको छ। निर्देशक मगरका अनुसार ‘जलाकी’ मगर समुदायमा सम्झना, आस्था र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गे स्तम्भलाई जनाउने शब्द हो। यही प्रतीकमार्फत दुई समुदायका सांस्कृतिक पक्ष र भावनात्मक सम्बन्धलाई सिनेमामा समेटिएको उनले बताएका छन्।

सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायत कलाकार छन्। क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन् भने मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर बालकलाकारका रूपमा छन्। मिस सिक्किम साहारा हाङमा लिम्बूले यही सिनेमाबाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘जलाकी’का निर्माता ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्। सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले गर्नेछन्।

सम्बन्धित समाचार

सबै