गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदबहादुर गुरुङ (श्याम) को परिकल्पनामा निर्माण भइरहेको ऐतिहासिक कथामा आधारित नेपाली फिल्म ‘बुकी फूल’को छायांकन सम्पन्न भएको छ। अभियान फिल्म्स प्रोडक्सन प्रा.लि., पोखराको ब्यानरमा निर्माण भइरहेको फिल्मको मंगलबार कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा अन्तिम दृश्य छायांकन गर्दै इन्डक्ल्याप गरिएको हो।
गुरुङ सभ्यता, संस्कृति र संस्कारमा आधारित ‘बुकी फूल’ले ऐतिहासिक कथालाई पर्दामा उतार्ने लक्ष्य राखेको छ। असोज १ गते कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट शुभमुहूर्त गरिएको फिल्मको छायांकन सिक्लेस र आसपासका क्षेत्रमा गरिएको हो। फिल्मको निर्देशन ओमप्रकाश गुरुङले गरेका छन्।
फिल्ममा दयाहाङ राई मुख्य भूमिकामा छन्। संस्कृति गुरुङले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्दैछिन्। साथै पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, डीबी गुरुङ, बलबहादुर गुरुङ, लालशोभा गुरुङ र प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको छायांकन सुसान प्रजापतिले गरेका हुन्। मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने छन् भने सहायक निर्देशकमा विशाल राई र सुरेन्द्र सिंह छन्। कला निर्देशन कमलबहादुर गुरुङ, याङसाङ राई र रोशन मुर्मुले गरेका छन्। पोसाक व्यवस्थापन कमला छ्यान्त्यालले सम्हालेकी छन्। लाइभ साउन्डमा नवीन श्रेष्ठ, मेकअपमा विक्रम थापा र बीटीएस छायांकनमा समीर गुरुङ छन्। सहनिर्माण नियन्त्रक टेक गुरुङ हुन् भने नृत्य निर्देशन कमलबहादुर गुरुङले गरेका छन्।
फिल्मका प्रोडक्सन म्यानेजर डीबी गुरुङका अनुसार ताङतिङमा अन्तिम दृश्य छायांकन भएसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको हो। निर्माण पक्षले अब छिट्टै सम्पादन सुरु गर्ने जनाएको छ।
गुरुङ सभ्यताको मौलिक कथा, सांस्कृतिक पहिचान र ऐतिहासिक परिवेशलाई केन्द्रमा राखेर निर्माण भइरहेको ‘बुकी फूल’ले समुदायको परम्परा र तत्कालीन जीवनशैलीलाई पर्दामा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
छायांकन सम्पन्न गर्न सहयोग पुर्याउने कलाकार, प्राविधिक, स्थानीयवासी, शुभेच्छुक तथा सम्पूर्ण फिल्म परिवारप्रति निर्माण पक्षले आभार व्यक्त गरेको छ। अब सम्पादन प्रक्रिया अघि बढेसँगै फिल्म दर्शकमाझ आउने तयारीमा जुटेको छ।