काठमाडौं । अभिनेत्री निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधिबाट सम्मानित गरिने भएको छ । रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार काठमाडौंमा आयोजना गर्ने ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’ को अन्तिम समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिनेछ ।
साढे तीन दशकभन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय सिंहले अभिनयमार्फत आफ्नो छुट्टै पहिचान बनाएकी छन् । सन् १९९३ मा तुलसी घिमिरे निर्देशित ‘दक्षिणा’बाट फिल्म यात्रा सुरु गरेकी उनले ‘रहर’, ‘मितज्यू’, ‘दर्पणछाया’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘ठुलदाई’, ‘बन्धकी’, ‘चाँदनी’, ‘को आफ्नो को विरानो’, ‘नाता रगतको’, ‘खानदान’, ‘दाल भात तरकारी’ र ‘३६ को आँकडा’लगायत फिल्ममा अभिनय गरेकी छन् ।
अभिनयका अतिरिक्त गायनमा समेत रुचि राख्ने सिंहले टेलिभिजन धारावाहिक ‘वंश’को शीर्षगीत गाएकी थिइन् । ‘दीपशिखा’ म्युजिक एल्बममा पनि उनको स्वर समावेश छ ।
केही समय फिल्म क्षेत्रबाट टाढिएर मुम्बई बस्दै आएकी सिंहले सन् २०१९ मा ‘दाल भात तरकारी’बाट पुनरागमन गरेकी थिइन् । कला र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै सरकारले उनलाई सन् २०२३ मा प्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको थियो ।
उनको लामो योगदान र उपलब्धिको सम्मानस्वरूप मानार्थ उपाधि प्रदान गर्न लागिएको आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले बताएका छन् । यसअघि करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दले पनि यो सम्मान प्राप्त गरिसकेका छन् ।
प्रतियोगिताको विशेष आकर्षणका रूपमा मिसेस वर्ल्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी) नेपाल आउने भएकी छन् । उनी शुक्रबार दिउँसो तीनदिने भ्रमणका लागि काठमाडौं आइपुग्ने आयोजक शिला बास्तोलाले जानकारी दिएकी छन् । थाइल्यान्डकी स्यामीले मिसेस वर्ल्डको उपाधि जितेपछि पहिलोपटक नेपाल भ्रमण गर्न लागेकी हुन् । नेपाल बसाइका क्रममा उनी प्रतियोगितासम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् ।
यस वर्षको अन्तिम प्रतिस्पर्धामा २२ जना सहभागी छन् । प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन प्रतिस्पर्धामा छन् ।
गृहिणी, चिकित्सक, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स तथा फेसन डिजाइनरसहित विभिन्न पेसामा आबद्ध महिलाहरू प्रतियोगितामा सहभागी छन् । विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय मिसेस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
आयोजकका अनुसार यसै समारोहबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोका विजेतासमेत चयन हुनेछन् । यी उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।
अश्विनी झाको कोरियोग्राफी र निशा बराइलीको सह–कोरियोग्राफी रहने कार्यक्रम गङ्गा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा आयोजना हुनेछ ।