‘जलाकी’को ट्रेलरमा उपासना र सोनमको प्रेमकथा, देखायो यस्तो समस्या

0 Shares

काठमाडौं । मगर समुदायको सांस्कृतिक पहिचान र प्रेमभावनालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘जलाकी’को ट्रेलर सार्वजनिक भएको छ । ‘खुस्मा’का निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्मको ट्रेलर शुक्रबार लबिम मलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

ट्रेलरले कलेज जीवनको प्रेमदेखि समयसँगै बदलिने सम्बन्ध र त्यसले पात्रहरूको जीवनमा ल्याउने भावनात्मक उतारचढावलाई समेटेको छ । अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनम तोप्देनबीचको केमेस्ट्री ट्रेलरको मुख्य आकर्षण देखिन्छ ।

फिल्मका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ गीत यसअघि नै दर्शकमाझ लोकप्रिय बनेका छन् । टिजरले पनि दर्शकको ध्यान खिचिसकेको छ । निर्माण टिमले गीत र टिजरले पाएको प्रतिक्रियाले ट्रेलरप्रति थप अपेक्षा बढाएको जनाएको छ ।

‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा स्थापित ढुङ्गाको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक अशोक थापा मगरले यही प्रतीकमार्फत मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनात्मक सम्बन्धलाई फिल्ममा प्रस्तुत गरिएको बताएका छन् ।

फिल्ममा उपासना, सोनम, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायत कलाकार छन् । क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन् । मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर बालकलाकारका रूपमा छन् ।

मिस सिक्किम साहारा हाङमा लिम्बूले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी निर्माता छन् ।

फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।

 

सम्बन्धित समाचार

सबै