‘म पूर्ण रूपमा भीम होइन’ : जितु नेपाल

0 Shares

काठमाडौं। अभिनेता जितु नेपालले फिल्म ‘पाँच पाण्डव’मा आफूले निर्वाह गरेको भीमसेनको चरित्रलाई लिएर दर्शकमाझ भइरहेको चर्चाबारे प्रस्ट्याएका छन्। महाभारतका भीमसँग आफ्नो चरित्रलाई सीधै तुलना गर्न नमिल्ने उनको भनाइ छ।

यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा अभिनेता हरिवंश आचार्यले जितुलाई ‘भीम’ भनेर सम्बोधन गरेको दृश्य छ। त्यसको जवाफमा जितुले ‘म त भीमसेन हो’ भनेका छन्। महाभारतका पाँच पाण्डवमध्ये सबैभन्दा बलिया भीमको चरित्रमा जितु देखिएपछि उनी कसरी भीम बने भन्ने जिज्ञासा पनि उठेको छ।

जितु भने फिल्ममा आफू पूर्ण रूपमा भीम नभएको बताउँछन्। ‘यो ठ्याक्कै पाँच पाण्डवको कथा होइन। स्वर्गमा रहेका युधिष्ठिर दाजुभाइबिना दुःखी हुनुहुन्छ। उहाँलाई चार भाइको सम्झना आउँछ। ५१ सय वर्षपछि पनि कुनै न कुनै रूपमा मेरा भाइहरू जन्मिएका होलान् भनेर खोज्दै आउनुहुन्छ,’ उनी भन्छन्, ‘नेपाल नगरीमा भेटिएका पात्रलाई उहाँले ‘तँ भीम होस्’, ‘तँ अर्जुन होस्’, ‘तँ नकुल होस्’ भनेर चिनाउनुहुन्छ। मैले आफैं भीम हुँ भनेको होइन।’

भीमको चरित्रका लागि धेरै तयारी नगरेको बताउने जितु फिल्ममा इँटाभट्टाका मजदुर हुन्। ‘म पूर्ण रूपमा भीम होइन। हामी पाण्डवको एउटा अंश मात्र हौं। निर्देशकको निर्देशन र कथाले मागेअनुसार अभिनय गरेको हुँ,’ उनी भन्छन्।

महाभारतजस्तो कथासँग जोडिएर फिल्ममा काम गर्न पाउँदा खुसी लागेको जितुको भनाइ छ। तर फिल्ममा उनको अनुभव केवल चरित्रमा सीमित रहेन। अभिनेत्री दीपाश्री निरौलासँग श्रीमान्–श्रीमतीको भूमिकामा देखिनु, हरिवंश आचार्यसँग पहिलोपटक स्क्रिन सेयर गर्नु र ठूलो कलाकार समूहमा आफूलाई स्थापित गर्नु उनका लागि फरक अनुभव र चुनौती बने।

‘दीपा दिदीसँग यसअघि विज्ञापनमा काम गरेको थिएँ। तर यसपटक भीमकी श्रीमतीको भूमिका उहाँले गर्नुभएको छ। त्यो नौलो अनुभव भयो। हरिवंश आचार्यज्यूसँग पहिलोपटक स्क्रिन सेयर गरेँ। युधिष्ठिरले भीमलाई सम्झाउने दृश्य पनि फरक रह्यो,’ जितु भन्छन्, ‘यति धेरै कलाकार भएको फिल्ममा आफूलाई कसरी प्रस्तुत गर्ने र दर्शकले जितुलाई कुन रूपमा सम्झेलान् भन्ने चुनौती थियो।’

जितु नेपालका फिल्ममा दर्शकले कमेडीको अपेक्षा गर्ने गरेका छन्। ‘पाँच पाण्डव’मा पनि त्यो अपेक्षा केही हदसम्म पूरा हुने उनी बताउँछन्। ‘यो एउटै मान्छेको कथा होइन, पाँच जना भाइको कथा हो। हरेक कलाकारका आ–आफ्ना कथा छन्। कथाले र दृश्यले जति मागेको छ, त्यति नै कमेडी छ,’ उनी भन्छन्।

निर्देशक बसन्त निरौलासँग जितुले यसअघि ‘ज्वाइँ साब’मा काम गरेका थिए। लेखक सुशील पौडेलसँग पुरानै चिनजान थियो भने निर्माता नवीन श्रेष्ठसँग ‘लाज शरणम्’ निर्माण हुँदादेखि नै भेटघाट हुँदै आएको थियो। यही चिनजान र नियमित भेटघाटका क्रममा फिल्ममा काम गर्ने कुरा अघि बढेको जितु बताउँछन्।

बसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा जितुसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, दीपाश्री निरौला, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार छन्। सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)को पनि अभिनय छ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ हुन्। कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको फिल्मलाई लेखकले सोसल ड्रामा भनेका छन्। महाभारतका पाँच पाण्डवका चरित्र र विम्ब प्रयोग गरेर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको उनको भनाइ छ।

श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ। उत्तम न्यौपानेले साउन्ड डिजाइन, सुजिल कर्माचार्यले ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालले भिएफएक्सको जिम्मेवारी सम्हालेका छन्। फिल्ममा डल्बी एटमस साउन्डसमेत रहेको निर्माण टिमले जनाएको छ।

ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर हो भने आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ। रोहित कट्टेल र रत्न श्रेष्ठ फिल्मका वितरक हुन्।

सम्बन्धित समाचार

सबै