बिग मुभिजमा अत्याधुनिक प्रोजेक्टरदेखि डल्बी एटमससम्म

0 Shares

काठमाडौं । नेपालकै पहिलो मल्टिप्लेक्सका रूपमा परिचित बिग मुभिजले आफ्नो हललाई अत्याधुनिक प्रविधि र सुविधासहित पुनः सञ्चालनको तयारी गरेको छ । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले व्यापक रिनोभेसन गर्दै दृश्य, ध्वनि र सिटिङ प्रणालीमा अन्तर्राष्ट्रियस्तरका सुविधा थपेको हो ।

दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गरेको बिग मुभिजले ‘एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफरेन्स’ नारालाई केन्द्रमा राखेर हलको स्तरोन्नति गरेको जनाएको छ ।

नयाँ प्रविधिअन्तर्गत बिग मुभिजमा बारकोको ४के आरजीबी लेजर प्रोजेक्टर जडान गरिएको छ । बारको एसपी४के–२०सी (सिरिज ४) स्मार्ट लेजर प्रोजेक्टरमा २१ हजार ल्युमेन्स ब्राइटनेस र ४०९६ × २१६० नेटिभ रिजोलुसन छ । यसले पर्दामा दृश्यलाई अझ स्पष्ट, चम्किलो र जीवन्त बनाउने अपेक्षा गरिएको छ ।

रङको गुणस्तरका लागि ९८.५ प्रतिशतभन्दा बढी आरईसी २०२० र डीसीआई–पी३ कलर स्पेस सपोर्ट गर्ने प्रविधि प्रयोग गरिएको छ । विशेष सिल्भर स्क्रिनले पनि दृश्य अनुभवलाई थप प्रभावकारी बनाउने कम्पनीको दाबी छ ।

ध्वनिका लागि ६४ च्यानलको डल्बी एटमस थ्रीडी इमर्सिभ साउन्ड सिस्टम जडान गरिएको छ । हलका विभिन्न स्थानमा राखिएका स्पिकर र सीपी–५ए साउन्ड प्रोसेसरमार्फत १२८ वटासम्म साउन्ड अब्जेक्ट एकैपटक नियन्त्रण गर्न सकिनेछ । यसले दर्शकलाई चारैतिरबाट ध्वनि आएको अनुभूति गराउनेछ ।

सिटिङतर्फ २२ इन्चका ‘च्याम्पियन सिरिज’का २५५ वटा थिएटर कुर्सी र २९ इन्चका ‘रोयल लक्जुरिया’का २९ वटा रिक्लाइनर राखिएका छन् । आरामदायी अनुभवका लागि कुर्सीमा एर्गोनोमिक डिजाइन, ल्यामिनेटेड फेब्रिक र थ्री–पोजिसन लकिङ सुविधा दिइएको छ ।

हलको भित्री वातावरण पनि परिवर्तन गरिएको छ । नयाँ कार्पेटिङ, अकुस्टिक वाल कभरिङ र आधुनिक लाइटिङ जडान गरिएको बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

अर्यालले बिग मुभिजले आफ्नो ऐतिहासिक पहिचान कायम राख्दै प्रविधि र सुविधामा नयाँ स्तर स्थापित गर्न खोजेको बताए । उनका अनुसार अब बिग मुभिजमा फिल्म हेर्नु केवल पर्दामा दृश्य हेर्नु नभई कथा र वातावरणलाई महसुस गर्ने अनुभव हुनेछ ।

बिग मुभिजले दर्शकलाई उत्कृष्ट पिक्चर, साउन्ड, कम्फर्ट र समग्र सिनेमा अनुभव उपलब्ध गराउने लक्ष्य राखेको अर्यालले बताए ।

सम्बन्धित समाचार

सबै