काठमाडौं । फिल्म ‘चिरञ्जीवी भवः’को लोकलयमा आधारित डान्सिङ नम्बर ‘जाले रुमाल’ सार्वजनिक भएको छ। निर्माण पक्षले बिहीबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।
गीतमा दीपकप्रसाद आचार्यको शब्द, बाबुल गिरीको संगीत तथा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर छ।
लोकलयमा तयार भएको गीतमा एक युवक र युवतीबीचको दोहोरी प्रस्तुत गरिएको छ। रूप र सौन्दर्यबाट एकअर्काप्रति आकर्षित भएका उनीहरूले मायाको सुरुवातलाई आफ्नै सौन्दर्यसँग जोडेर व्यक्त गरेका छन्। मौलिक शब्द चयन र आकर्षक हुकलाइन गीतका बलिया पक्ष हुन्।
सवाल–जवाफ शैलीको गीतको भिडियोमा विवाहको परिवेश छ। आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको विवाहको सेटअपमा परिवारले गरेको रमाइलो प्रस्तुत गरिएको छ। गीतले फिल्मका पात्रबीचको अन्तरसम्बन्ध र पारिवारिक सम्बन्धसमेत उजागर गरेको छ। भिडियोमा फिल्मका अधिकांश पात्र देखिन्छन्।
गीतको अन्तिम दृश्यले भने कौतुहलता सिर्जना गर्छ। अकस्मात् घट्ने घटनाले कस्तो मोड लिन्छ भन्ने जिज्ञासा भिडियोले छाडेको छ। भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन्।
‘चिरञ्जीवी भवः’मा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन्। हरिवंश आचार्य ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिँदैछन्। फिल्ममा करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको अभिनय छ।
ब्लकबस्टर फिल्म ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको ‘चिरञ्जीवी भवः’ माघ १ गतेदेखि प्रदर्शनमा आउँदैछ। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ।
गत वर्ष आचार्य निर्देशित ‘परान’ सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली फिल्म बनेको थियो। उनको निर्देशनमा बन्न लागेको दोस्रो फिल्म भएकाले ‘चिरञ्जीवी भवः’लाई दर्शकले प्रतीक्षा गरिरहेका छन्।
फिल्ममा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै जोडिएका छन्। कुमारको कथामा दीपकले फिल्म निर्माण गरेका हुन्। कथालाई सविन अधिकारी र वसन्त न्यौपानेले लेखन तथा पटकथामा ढालेका छन्।
सोसल ड्रामा विधाको फिल्मले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धको कथालाई मुख्य विषय बनाएको छ।
उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको फिल्ममा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन्। फिल्मका गीतमा निर्देशक आचार्यसँगै हर्क साउदको पनि शब्द रहनेछ भने रञ्जित गजमेरको संगीतसमेत समावेश हुनेछ।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन र मित्र डी. गुरुङको सम्पादन छ। बाबुल गिरी, सुशान्त गौतम, निरञ्जन थापा र समीर खरेलले संगीत दिएका छन्। गम्भीर विष्ट र किरण थापा नृत्य निर्देशक हुन्।
रामबाबु खड्का प्रमुख सहायक निर्देशक रहेको फिल्ममा सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशक छन्। सुवास राज काफ्ले प्रोजेक्ट म्यानेजर र विशाल न्यौपाने प्रोडक्सन डिजाइनर हुन्।
फिल्मको मेकअप विक्रम गौतमले गरेका छन् भने स्टिल तथा बीटीएस सन्तोष क्षेत्री, प्रोडक्सन विष्णुप्रसाद मैनाली र अनिश लामिछाने तथा पब्लिसिटी डिजाइन टाउवा स्टुडियो (विजय बस्याल)ले सम्हालेका छन्।
माघ १ गते (१५ जनवरी)देखि देशभर प्रदर्शनमा आउने फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ। रोहित कट्टेल र रत्न श्रेष्ठको कम्पनी आरआर फिल्म्स फिल्मको देशव्यापी वितरक हो भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ।