पल र प्रदीपसँग स्क्रिन सेयर गर्दै सिम्रन

0 Shares

काठमाडौं । केपी फिल्म्स र पुरुषोत्तम फिल्म्सले पुनः चर्चित नायकद्वयलाई एउटै फिल्ममा प्रस्तुत गर्ने भएका छन् । पल शाह र प्रदीप खड्कालाई लिएर कृषा चौलागाईं र विशाल चौलागाईंले निर्माण गर्न लागेको फिल्मको आज पूजा गर्दै शुभमुहूर्त गरिएको छ ।

यसअघि पनि मल्टिस्टारर फिल्म निर्माण गरिसकेको यो टिमले यसपटक पल र प्रदीपलाई एकसाथ पर्दामा उतार्न लागेको हो । यी दुई नायकसँगै फिल्ममा ब्युटिफुल राइजिङ स्टार सिम्रन पन्त देखिनेछिन् । यस्तै, जुना विश्वकर्माले यही फिल्ममार्फत डेब्यु गर्दैछिन् ।

मंसिरबाट म्याग्दीका रमणीय स्थलमा छायांकन सुरु हुने फिल्मको बाँकी छायांकन काभ्रेको बनेपामा गरिने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा पल शाह, प्रदीप खड्का, सिम्रन पन्त र जुना विश्वकर्मासँगै लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना र सुरज तमुलगायत कलाकारको अभिनय रहनेछ । फिल्मको कथा तथा संवाद अभिमन्यु निरविले लेखेका हुन् ।

कृषा चौलागाईंको निर्देशन रहने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । विशाल चौलागाईं निर्माता रहेको फिल्ममा सविन ढुंगाना फाइनान्स म्यानेजर र रविन बख्रेल प्रोडक्सन म्यानेजरका रूपमा रहनेछन् ।

फिल्ममा सुरेश अधिकारी, राजनराज शिवाकोटी र हर्क साउदको संगीत रहनेछ भने वसन्त अधिकारी मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् । आरआर फिल्म्सले वितरण गर्ने फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन् । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहने निर्देशक कृषाले जानकारी दिएकी छन् ।

फिल्म आगामी नयाँ वर्षमा प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार

सबै