नेपाल र भारतको सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक भएको छ। तिहारको अवसरमा ‘वल्र्ड अफ मोनालिसा’ शीर्षकमा सार्वजनिक पोस्टरले फिल्मको पहिलो झलक प्रस्तुत गरेको छ।
पीजी स्टुडियोको प्रस्तुतिमा प्रशान्त गिरीले निर्माण गर्न लागेको यस फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्नेछन्। चलचित्र पत्रकार सचित खड्का कार्यकारी निर्माताका रूपमा जोडिएका छन्। फिल्मलाई अन्तर्राष्ट्रिय स्तरको ठूलो क्यानभासमा निर्माण गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ।
फिल्मको तयारी अहिले भारतका हैदराबाद र बैंगलोरमा भइरहेको छ। आगामी असारदेखि छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको फिल्मको ३० प्रतिशत दृश्य नेपालमा र ७० प्रतिशत भारतमा खिचिनेछ। भारतको चर्चित रामोजी फिल्म सिटीमा पनि फिल्मका महत्वपूर्ण दृश्य छायाङ्कन गरिने योजना छ।
फिल्ममा नेपाली र भारतीय कलाकारको अभिनय रहनेछ। केही चर्चित भारतीय कलाकारसँगै नेपाली कलाकारलाई पनि महत्वपूर्ण भूमिकामा देखिनेछ। तर, निर्माण पक्षले अहिलेसम्म कलाकारहरूको नाम सार्वजनिक गरेको छैन।
निर्माण पक्षका अनुसार फिल्मको सम्पादन, कलर ग्रेडिङ, ध्वनि डिजाइन, भिजुअल इफेक्ट्स, डिजिटल इन्टरमिडियट र प्रचार सामग्रीको डिजाइनजस्ता प्राविधिक काम भारतका प्रतिष्ठित कम्पनी तथा अनुभवी प्राविधिकको सहकार्यमा गरिनेछ।
नेपाली र हिन्दी भाषासहित पाँच भाषामा फिल्म प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। विश्वव्यापी दर्शकसम्म पुग्न अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्मसँग वितरण तथा प्रदर्शनका विषयमा छलफल भइरहेको निर्माण पक्षले जनाएको छ। यसबारे अन्तिम निर्णय भने केही समयपछि सार्वजनिक गरिनेछ।
नेपाल र भारतका फिल्मकर्मी तथा निर्माण संस्थाबीचको सहकार्यमा बन्न लागेको ‘मोनालिसा ब्लडी लभ’ लाई ठूलो बजेट र अन्तर्राष्ट्रिय बजार लक्षित महत्वाकांक्षी परियोजनाका रूपमा प्रस्तुत गरिएको छ।