गाउँमा अस्पताल बनाउन बैंक लुट्ने तयारी, ‘ककाकिकी’ ट्रेलर सार्वजनिक

0 Shares

काठमाडौँ । गाउँमा अस्पताल बनाउन बैंक लुट्नेसम्मको योजना ! यही रोचक कथावस्तु समेटिएको हास्यप्रधान फिल्म ‘ककाकिकी’को ट्रेलर सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित कार्यक्रममा निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलरले कुलेबारी गाउँका मानिसहरूको अस्पताल बनाउने संघर्ष र त्यसका लागि उनीहरूले बनाएका अनौठा योजनालाई प्रस्तुत गरेको छ । गाउँमा अस्पताल बनाउन बैंक नै लुट्नुपर्ने निष्कर्षमा पुग्ने पात्रहरूको कथाले फिल्मप्रति कौतूहल जगाएको छ ।

ट्रेलरमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के र मनोज गजुरेललगायत कलाकार देखिएका छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा गौरी मल्लले फिल्मले पछिल्लो समय निर्माण भइरहेका फिल्मभन्दा फरक स्वाद दिने प्रयास गरेको बताइन् । शिशिर वाङ्देलले युवा जोसले भरिएको निर्माण टिमसँग काम गर्दाको अनुभव राम्रो रहेको सुनाए । मनोज गजुरेलले भने लामो समयपछि फिल्ममा फर्किन पाएको र यो आफ्नो दोस्रो फिल्म भएको बताए ।

निर्देशक बिक्की अगरवालले नेपाली दर्शकको रुचिलाई ध्यानमा राखेर फिल्म निर्माण गरिएको बताए । फिल्मको टिजर र ट्रेलरसमेत आफैँले सम्पादन गरेको उल्लेख गर्दै उनले फिल्मको नतिजा र दर्शकको प्रतिक्रियाको जिम्मेवारी पनि आफूले लिने बताए ।

फिल्मको प्रदर्शन मिति सुरुमा भदौ १९ गते तय गरिएको थियो । तर, देशमा आएको ठूलो बाढीपहिरोबाट भएको जनधनको क्षतिका कारण त्यसबेला मनोरञ्जनभन्दा पीडितको अवस्थालाई प्राथमिकता दिनुपर्ने भन्दै निर्माण टिमले प्रदर्शन मिति मंसिर ११ गतेका लागि सारेको थियो ।

बिक्की अगरवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशन रहेको फिल्ममा प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायतको अभिनय छ ।

बिक्की अगरवाल, सरोज भण्डारी र विकास अर्यालले फिल्म लेखेका हुन् । श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको फिल्मको कन्सेप्ट सुमन अग्रवालको हो । विश्वास तिमल्सिना (बिटी कान्छा)ले स्क्रिप्ट डक्टरको काम गरेका छन् ।

सुदीप बराल डीओपी रहेको फिल्ममा अनिश बुढाथोकी मुख्य सहायक निर्देशक र विशाल राई सहायक निर्देशक छन् । अनिस तामाङ मेकअप, सुमन परियार कस्ट्युम डिजाइन र अरुण रेग्मी प्रोडक्सन हेडमा छन् ।

फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटल र अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलसँग छ ।

सम्बन्धित समाचार

सबै