काठमाडौं । आधुनिक प्रेम, आकर्षण र सम्बन्धको उतारचढाव ! यिनै विषयलाई केन्द्रमा राखेको फिल्म ‘फ्रेन्च किस’को टिजर सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । फिल्म आगामी माघ १ गते माघे संक्रान्तिको अवसर पारेर प्रदर्शनमा आउनेछ ।
सार्वजनिक टिजरमा अर्पण थापा र थिन्ले ल्हामोको जोडीलाई देखाइएको छ । काठमाडौंका विभिन्न सुन्दर स्थानदेखि तालसम्म हात समाएर घुम्ने उनीहरू प्रेमबारे आआफ्ना धारणा राख्छन् । उनीहरूको संवादमा आधुनिक समयमा प्रेम मिथकजस्तै बनिसकेको भाव व्यक्त हुन्छ ।
एकअर्काप्रति आकर्षित देखिने जोडीको निकटता चुम्बन र शारीरिक सम्बन्धसम्म पुग्छ । तर, त्यसपछि सुनिने चर्को भनाभनले उनीहरूको सम्बन्धमा दरार आएको संकेत गर्छ । यसरी टिजरले आधुनिक प्रेममा देखिने आकर्षण, क्षणिकता र सम्बन्धको जटिलतालाई प्रस्तुत गरेको छ ।
अर्पण थापाको निर्देशन रहेको फिल्ममा उनीसँगै थिन्ले ल्हामो, रेखा थापा, गौरी मल्ल र आयशा तामाङलगायत कलाकारको अभिनय छ ।
नयाँ पुस्ताको प्रेमकथालाई फरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको निर्देशक थापाले यसअघि नै बताएका थिए । फिल्मको कथा पनि उनकै हो । निर्माण टिमले फिल्मलाई नयाँ पुस्ताको रुचिअनुसारको प्रेमकथा भनेको छ ।
ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता सौगात बस्नेत र सहनिर्माता सुभाष बी. शाही हुन् । सुदीप बरालले छायांकन गरेको फिल्ममा गायक तथा संगीतकार दीपक बज्राचार्यको संगीत रहनेछ ।
‘फ्रेन्च किस’ माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ ।