‘खुस्मा’भन्दा फरक सिनेम्याटिक स्वादमा छ ‘जलाकी’ : निर्देशक अशोक थापा मगर

0 Shares

निर्देशक अशोक थापा मगर आफ्नो दोस्रो निर्देशकीय फिचर फिल्म ‘जलाकी’मार्फत प्रेमकथा र कलेज जीवनको नोस्टाल्जियासँगै वैदेशिक रोजगारीमा जाने महिलाले भोग्ने शोषण र त्यसले परिवार तथा सन्तानको मनोविज्ञानमा पार्ने प्रभाव पर्दामा उतार्दैछन्।

मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्मले विशेषगरी गल्फ कन्ट्रीमा घरेलु कामदारका रूपमा जाने महिलाको संघर्ष, उनीहरूले भोग्नुपर्ने सामाजिक तथा मनोवैज्ञानिक जटिलता र त्यसको पारिवारिक प्रभावलाई कथाको केन्द्रमा राखेको छ।

अशोकका अनुसार ‘जलाकी’को कथा प्रेम र कलेज जीवनको स्मृतिमा मात्र सीमित छैन। वैदेशिक रोजगारीका क्रममा महिलाले भोग्ने शोषण, त्यसबाट उत्पन्न हुने जटिलता र आमाको जीवनमा घटेका घटनाले सन्तान, विशेषगरी छोरीको मनोविज्ञानमा पार्ने प्रभावलाई पनि फिल्ममा फरक ढंगले प्रस्तुत गरिएको छ।

पोखरा र गण्डक क्षेत्रको परिवेशमा तयार भएको फिल्मको सिनेम्याटिक अप्रोच, कलर र प्रस्तुति आफ्नो अघिल्लो फिल्म ‘खुस्मा’भन्दा फरक रहेको उनको दाबी छ। कास्टिङका क्रममा सुरुमा उपासना, सोनाम र धिरजलाई सोचिएको भए पनि विभिन्न परिस्थितिका कारण कलाकार छनोटमा परिवर्तन गर्नुपरेको उनले खुलाएका छन्।

एकै समयमा नेपाली तथा विदेशी फिल्म प्रदर्शनमा आउँदा बजारको प्रतिस्पर्धात्मक दबाब महसुस भएको स्वीकार गर्ने निर्देशक थापा मगर भने ‘जलाकी’ले दर्शकलाई फरक स्वाद दिनेमा विश्वस्त छन्। प्रस्तुत छ, फिल्मको विषयवस्तु, कास्टिङ, निर्देशन अनुभव र प्रदर्शनको चुनौतीबारे निर्देशक अशोक थापा मगरसँग गरिएको कुराकानी।

यो फिल्मको आइडिया कहिले आएको हो?

हजुर, यो आइडिया ‘खुस्मा’पछि आएको हो। तर वैदेशिक रोजगारीमा जाने, विशेषगरी डोमेस्टिक भिसामा गल्फ कन्ट्री जाने महिलाहरूको विषय भने पहिलेदेखि नै मेरो दिमागमा थियो। त्यसमा अरू केही कथाका पक्षहरू पनि जोडिँदै जाँदा अहिलेको कथा बनेको हो।

दर्शकले यो फिल्ममा के हेर्न पाउँछन्?

यसमा दर्शकले एउटा प्रेमकथाको नोस्टाल्जिया महसुस गर्न सक्नुहुन्छ। कलेज लाइफको एउटा यस्तो कथा छ, जसले कलेज जीवन बिताइसकेका दर्शकलाई पुराना दिन सम्झाउन सक्छ भने अहिले कलेजमा पढिरहेका दर्शकले पनि आफ्नै जीवनको अनुभूति गर्न सक्छन्।

त्यति मात्रै होइन, हामीले यो फिल्ममार्फत एउटा सन्देश दिन खोजेका छौँ। विशेषगरी वैदेशिक रोजगारीमा जाने, अझ डोमेस्टिक कामका लागि गल्फ कन्ट्री जाने महिलाहरूले भोग्नुपर्ने समस्यालाई देखाउन खोजेका छौँ।

विदेश पुगेपछि उनीहरूले भोग्नुपर्ने शोषण, त्यसले निम्त्याउने गर्भावस्था र त्यसपछिका जटिलताले महिलाको जीवनमा कस्तो असर पार्छ भन्ने विषय फिल्ममा छ। उनीहरूको पनि आफ्नै परिवार हुन्छ, श्रीमान् हुन्छन्, छोराछोरी हुन्छन्। तर वर्षौँसम्म परिवारबाट टाढा रहनुपर्दाको पीडा र त्यस्तो परिस्थितिमा उनीहरूसँग विकल्प नहुँदाको अवस्थालाई कथामा समेटेका छौँ।

अर्को महत्त्वपूर्ण पक्ष भनेको बालमनोविज्ञान हो। आमाले भोगेको घटनाले छोरीको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा पनि फिल्ममा फरक ढंगले प्रस्तुत गरेका छौँ। अहिले उपासनाले निर्वाह गर्नुभएको पात्रले त्यसको प्रभावलाई प्रतिनिधित्व गर्छ।

फिल्मको कास्टिङ कसरी गर्नुभयो?

सुरुमा एउटा पात्रका रूपमा उपासना र सोनामलाई नै सम्झिएको थिएँ। पछि यो कथा मगर समुदायभित्रको भएकाले मगर समुदायकै कलाकारबाट पात्र निर्वाह गराउने सोचले धिरजलाई पनि जोड्यौँ।

धिरज आएपछि धिरज र सोनाम दुवैलाई लिएर अघि बढ्ने कुरा भएको थियो। तर बीचमा सोनामको खुट्टामा समस्या आएपछि उहाँले गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन भन्ने अन्योल भयो। पछि धिरजको पनि समय नमिलेपछि उहाँ फिल्मबाट बाहिरिनुभयो।

त्यसपछि केही समय पर्खेर क्यारेक्टरले मागेअनुसार कलाकार छनोट गर्‍यौँ। यसक्रममा ‘खुस्मा’का केही टिमका सदस्यहरूलाई पनि जोड्दै गयौँ।

निर्देशकका रूपमा यो फिल्ममार्फत दर्शकलाई के देखाउन खोज्नुभएको छ?

मैले अघि पनि भनेँ, यो मूलतः एउटा कथा हो। तर यसपटक हाम्रो सिनेम्याटिक अप्रोच पनि ‘खुस्मा’भन्दा फरक छ। कलर र प्रेजेन्टेसनका हिसाबले पनि फरकपन छ।

‘खुस्मा’मा ग्रामीण क्षेत्रको परिवेश बढी थियो भने यसमा पोखरा र गण्डक क्षेत्रको परिवेश बढी देख्न सकिन्छ। रोल्पा र म्याग्दीका केही पक्ष पनि छन्। तर मुख्य रूपमा कलेज लाइफ र गण्डक क्षेत्रको परिवेशलाई प्रस्तुत गरेका छौँ।

प्रेजेन्टेसन, कलर र समग्र अनुभूतिका हिसाबले दर्शकले केही फरक महसुस गर्नुहुनेछ भन्ने आशा छ।

यो मगर समुदायको विषयमा बनेको फिल्म हो कि समग्र नेपाली समाजको कथा हो?

डिफिनेट्ली, यो नेपाली फिल्म हो। मगर र गुरुङ समुदायका पात्रहरू कथामा जोडिएपछि उनीहरूको संस्कृति र परिवेश पनि जोडिने नै भयो। तर फिल्मको मूल विषयवस्तु भने समग्र नेपाली समाजसँग सम्बन्धित छ।

आफूले बनाएको फिल्मलाई १० मा कति नम्बर दिनुहुन्छ?

आफैँले आफैँलाई नम्बर दिनु उचित हुँदैन। तर एउटा कुरा के हो भने फिल्म बनाउँदा धेरै कुरामा सम्झौता गर्नुपर्ने रहेछ। ठूलो टिम हुन्छ, वातावरणको कुरा हुन्छ, फाइनान्सिङको पक्ष हुन्छ। यी सबै कुराले गर्दा आफूले चाहेजस्तो सबै कुरा निकाल्न नसकिने रहेछ।

म अझै पनि आफूले सोचेजस्तो फिल्म बनाउन चाहन्थेँ। तर त्यो सम्भव भएन। यद्यपि दर्शक निराश हुनुहुने छैन भन्ने विश्वास छ। त्यो स्तरको काम भएको छ भन्ने मलाई लाग्छ।

अहिले बजारमा एकै महिनामा धेरै फिल्म प्रदर्शन भइरहेका छन्। यस्तो अवस्थामा बजारको दबाब कत्तिको महसुस गर्नुभएको छ?

दबाब त ठूलो छ। हामीले प्रदर्शन मिति तय गरेर स्क्रिन राख्दा अहिले प्रदर्शन भइरहेका फिल्महरू थिएनन्। इमानदारीपूर्वक भन्नुपर्दा, जुन समयमा हामीले मिति तय गरेका थियौँ, त्यतिबेला अहिलेको जस्तो प्रतिस्पर्धा थिएन।

पछि भारतीय फिल्महरूको प्रतिस्पर्धा पनि थपियो। अहिले नेपाली फिल्महरू पनि एकै समयमा प्रदर्शन भइरहेका छन्। त्यसैले दबाब हुनु स्वाभाविक हो।

तर मलाई के आशा छ भने उहाँहरूको पनि आफ्नै किसिमको फिल्म बनेको छ र हाम्रो पनि आफ्नै किसिमको फिल्म बनेको छ। दर्शकले दुवै फिल्ममा फरक स्वाद पाउनुहुनेछ भन्ने विश्वास छ।

सम्बन्धित समाचार

सबै