कलाकारका रूपमा आफूले निर्वाह गरेको पात्र दर्शकको मनमा रहिरहोस् भन्ने चाहना छ परीक्षा लिम्बुको । त्यसैले ‘हिमालयन गोल्ड’मा उनी अभिनेत्रीका रूपमा चिनिनुभन्दा सोनामका रूपमा सम्झिन चाहन्छिन् ।
काठमाडौं । एउटा कलाकारका लागि आफ्नो नामभन्दा आफूले निर्वाह गरेको पात्र दर्शकको स्मृतिमा रहनु कति महत्वपूर्ण हुन्छ ? अभिनेत्री परीक्षा लिम्बुका लागि यसको जवाफ स्पष्ट छ– दर्शकले उनको नाम बिर्सिए पनि सोनामलाई नबिर्सिऊन् ।
आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हिमालयन गोल्ड’मा परीक्षा सोनाम बनेर पर्दामा आउँदैछिन् । यो चरित्र उनका लागि अभिनयको नियमित निरन्तरता मात्रै होइन, आफूलाई नयाँ परिवेश र फरक जीवनशैलीमा परीक्षण गर्ने अवसर पनि हो ।
परीक्षाले यसअघि हिमाली भूगोल र त्यहाँको जीवनशैलीमा आधारित पात्रलाई अभिनयमार्फत अन्वेषण गरेकी थिइनन् । न त सोनामजस्तो चरित्रलाई नजिकबाट बुझ्ने अवसर नै पाएकी थिइन् । त्यसैले फिल्मको कथा सुन्दा उनमा उत्साहसँगै अन्योल र जिम्मेवारीबोध पनि पैदा भयो ।
अपरिचित परिवेशमा आफूलाई स्थापित गर्नु र त्यसलाई विश्वसनीय अभिनयमार्फत दर्शकसम्म पुर्याउनु उनका लागि चुनौती थियो । तर, कलाकारका रूपमा फरक चरित्रमा काम गर्ने उनको रुचिले त्यो चुनौती स्वीकार गर्न प्रेरित गर्यो ।
‘मिश्रित भावना थियो । उत्साहित पनि थिएँ र अलिकति नर्भस पनि । यस्तो परिवेशको कथा र चरित्र दर्शकमाझ आउनुपर्छ भन्ने लागेको थियो । हिमाली भेगको कथामा आफूलाई कहिल्यै एक्सप्लोर नगरेको हुँदा यो मेरा लागि नयाँ अनुभव थियो,’ परीक्षा भन्छिन् ।
सोनामलाई पर्दामा उतार्न उनले सबैभन्दा पहिले पात्रको मनोविज्ञान बुझ्ने प्रयास गरिन् । कुनै पनि पात्रको व्यवहार किन त्यस्तो छ ? उसले गर्ने निर्णयका पछाडि कस्ता कारण छन् ? उसको सोच र परिस्थितिले उसको जीवनलाई कसरी प्रभावित पारेको छ ? यिनै प्रश्नको उत्तर खोज्दै उनी सोनामको नजिक पुगिन् ।
निर्देशकसँगको छलफल र टिमको सहकार्यले पनि उनलाई पात्र बुझ्न सहयोग गर्यो । परीक्षाका अनुसार कुनै पनि चरित्र निर्माणमा निर्देशकको दृष्टिकोण महत्वपूर्ण हुन्छ । त्यसैले आफूले बुझेको सोनाम र निर्देशकले परिकल्पना गरेको सोनामबीच सामञ्जस्य कायम गर्न उनले निरन्तर छलफल गरिन् ।
तर, फिल्मको प्रमुख पात्र हुनुको अर्थ सिंगो कथा एक्लै बोक्नु हो भन्ने उनलाई लाग्दैन । उनी आफूलाई ‘हिमालयन गोल्ड’को एउटा पिलर मान्छिन् । फिल्मको परिणाम एउटा कलाकारको अभिनयले मात्रै निर्धारण नगर्ने उनको बुझाइ छ । पर्दामा देखिने कलाकारदेखि पर्दापछाडि काम गर्ने प्राविधिकसम्म सबैको योगदानले फिल्म पूर्ण हुन्छ ।
‘मैले सिंगो कथा एक्लै बोकेँ भन्नेभन्दा पनि कथाअनुसार आफ्नो चरित्रलाई न्याय गरेँ भन्ने लाग्छ । सबै टिमसँग मिलेर पिलरको काम गरेकी छु । निर्देशकदेखि फिल्मका सबै सदस्यको सहयोग र बुझाइ थियो,’ उनी भन्छिन् ।
अभिनयमा आफूलाई फरक पात्रमार्फत प्रस्तुत गर्न रुचाउने परीक्षाका लागि सहकलाकारसँगको सहकार्य पनि उत्तिकै महत्वपूर्ण छ । करियरको सुरुवातदेखि नै अग्रज कलाकारसँग काम गर्ने अवसर पाएकी उनले त्यसलाई कहिल्यै दबाबका रूपमा लिइनन् । बरु उनीहरूको अनुभव र काम गर्ने शैलीबाट सिक्ने अवसरका रूपमा लिइन् ।
‘हिमालयन गोल्ड’मा सुनिल थापालगायत अनुभवी कलाकारसँग काम गर्दा पनि उनको यही दृष्टिकोण रह्यो । अग्रज कलाकारसँग स्क्रिन सेयर गर्दा आत्मविश्वास बढ्नुका साथै अभिनयका नयाँ पक्ष बुझ्ने अवसर मिलेको उनी बताउँछिन् ।
परीक्षा र सोनामबीच केही स्वभावगत समानता भए पनि उनीहरू पूर्ण रूपमा एकै होइनन् । यही भिन्नताले अभिनयलाई रोचक बनाउने उनको बुझाइ छ । आफूभन्दा फरक सोच र स्वभाव भएका पात्रलाई पर्दामा उतार्दा कलाकारले आफ्नै सीमाभन्दा बाहिर पुगेर काम गर्ने अवसर पाउँछ ।
सायद त्यसैले परीक्षा एउटै प्रकृतिका भूमिकामा सीमित हुन चाहन्नन् । प्रत्येक नयाँ पात्रसँगै नयाँ अनुभव र सिकाइ जोडिने भएकाले उनलाई फरक चरित्रप्रति आकर्षण छ ।
‘हिमालयन गोल्ड’लाई उनी आफ्नो अग्निपरीक्षा मान्न पनि तयार छैनन् । उनका लागि हरेक फिल्म एउटा नयाँ पाठ हो । कुनै पात्रले कलाकारलाई के सिकाउँछ र कलाकारले आफ्नो अभिनयबाट त्यसलाई कति जीवन्त बनाउन सक्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । आफूले सक्दो मेहनत गरेको बताउने परीक्षा आफ्नो कामको अन्तिम मूल्यांकन दर्शकलाई नै सुम्पिन चाहन्छिन् ।
‘पास भएँ कि भएनँ, कुन डिभिजन आयो भन्ने कुरा दर्शकलाई छोडिदिन चाहन्छु । मैले आफ्नो तर्फबाट निष्पक्ष रूपमा धेरै मेहनतका साथ काम गरेकी छु,’ उनी भन्छिन् ।
परीक्षाको यो अभिव्यक्तिले अभिनयप्रतिको उनको दृष्टिकोण पनि प्रस्ट पार्छ । एउटा फिल्म सफल हुँदैमा कलाकार सधैँका लागि स्थापित हुँदैनन् । हरेक नयाँ फिल्ममा नयाँ पात्रसँगै आफूलाई पुनः प्रमाणित गर्नुपर्छ । कलाकारको वास्तविक परीक्षा पनि यही निरन्तरतामा हुने उनको धारणा छ ।
तर, ‘हिमालयन गोल्ड’बाट उनको अपेक्षा व्यक्तिगत पहिचानमा मात्रै सीमित छैन । नेपाली फिल्ममा फरक भूगोल, संस्कृति र परिवेशका कथालाई पनि प्रभावकारी ढंगले प्रस्तुत गर्न सकिन्छ भन्ने सन्देश दर्शकमाझ पुगोस् भन्ने उनी चाहन्छिन् ।
अन्ततः परीक्षाको प्रतीक्षा आफ्नै अभिनयको प्रशंसाभन्दा पनि एउटा पात्रको स्मृतिसँग जोडिएको छ । दर्शकले हलमा परीक्षा लिम्बुलाई देखून्, तर हलबाट बाहिरिँदा सोनामलाई आफूसँगै लिएर जाऊन् । उनका लागि कलाकारका रूपमा पाउन सकिने सबैभन्दा ठूलो उपलब्धि सायद यही हुनेछ ।
मंसिर ४ गतेबाट प्रदर्शनमा आउने ‘हिमालयन गोल्ड’मा सोनामको यात्रा कस्तो हुनेछ भन्ने निर्णय अब दर्शकले गर्नेछन् । तर, परीक्षा भने आफ्नो तर्फबाट त्यो पात्रलाई जीवन्त बनाउन सक्दो प्रयास गरेकोमा सन्तुष्ट छिन् ।