‘हिमालयन गोल्ड’ हेरेपछि सेलिब्रेटीको प्रतिक्रिया– नेपाली फिल्ममा नयाँ स्वाद

0 Shares

नेपाली फिल्म ‘हिमालयन गोल्ड’ले प्रिमियरमै सेलिब्रेटीको प्रशंसा बटुलेको छ। धीराज राजवंशीको डेब्यू निर्देशकीय फिल्म हेरेपछि कलाकार तथा फिल्मकर्मीले यसलाई नेपाली सिनेमाको परम्परागत शैलीभन्दा फरक र अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति भएको प्रतिक्रिया दिएका छन्।

बुधबार ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा आयोजित प्रिमियरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठदेखि निर्देशक दीपेन्द्र के खनाल, अभिनेता नाजिर हुसेन, अभिनेत्री लक्ष्मी वर्देवा र कविता नेपालीसम्मले फिल्मको प्रशंसा गरे।

मदनकृष्णले फिल्मको हिमाली दृश्य, अभिनय र प्रस्तुतिलाई उत्कृष्ट बताउँदै अन्तर्राष्ट्रिय स्तरको फिल्म भएको प्रतिक्रिया दिए। यद्यपि, फिल्ममा प्रयोग भएको भाषा केही कडा लागेको उनको भनाइ थियो। विदेशमा फिल्मले अझ राम्रो प्रदर्शन गर्न सक्ने उनको अनुमान छ।

निर्देशक दीपेन्द्र के खनालले फिल्मलाई आर्ट हाउस र कमर्सियल सिनेमाको सन्तुलित मिश्रणका रूपमा व्याख्या गरे। कथा, सिनेम्याटोग्राफी, साउन्ड, ब्याकग्राउन्ड स्कोर र अभिनयको प्रशंसा गर्दै उनले नयाँ निर्देशकलाई दर्शकले साथ दिनुपर्ने बताए।

नेपाली फिल्म गीत र फर्मुलामा मात्रै सीमित भयो भन्ने दर्शकलाई ‘हिमालयन गोल्ड’ हेर्न आग्रह गर्दै उनले नयाँ कथासहित आएका फिल्मलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे। फिल्म एडल्ट सर्टिफिकेट प्राप्त भएकाले परिवारभन्दा युवा दर्शकलाई लक्षित गरिएको पनि उनले स्पष्ट पारे।

अभिनेत्री लक्ष्मी वर्देवाले नेपाली फिल्ममा कमै देखिने स्तरको सिनेम्याटोग्राफी र आफ्नै समाजभित्रका अपराधलाई कथामा समेट्ने प्रयासको प्रशंसा गरिन्। अभिनेता नाजिर हुसेनले यार्सागुम्बासँग जोडिएको कथालाई सुन्दर ढंगले प्रस्तुत गरिएको भन्दै फिल्मलाई नेपाली सिनेमाले खोजिरहेको ‘एक्स्ट्रा स्वाद’को संज्ञा दिए। विशेषगरी फिल्मको अन्त्यमा देखाइएको महिलाको दृष्टिकोण उनलाई मन परेको थियो।

अभिनेत्री कविता नेपालीले कठिन हिमाली भूगोलमा पुगेर गरिएको छायाङ्कन र नेपालको प्राकृतिक सुन्दरतालाई पर्दामा उतारिएको तरिकाको प्रशंसा गरिन्। फिल्मले नेपाली प्राकृतिक सम्पदा र यहाँका मौलिक कथालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन सक्ने उनको विश्वास छ।

प्रिमियरमा स्वर्गीय अभिनेता सुनिल थापाको अन्तिम फिल्मका रूपमा ‘हिमालयन गोल्ड’ हेर्दा धेरै कलाकार भावुक बने। अभिनेत्री कविता नेपालीले पहिलो फिल्ममै थापासँग काम गर्न पाउनुलाई अवसरका रूपमा स्मरण गरिन्। नाजिर हुसेनले कलाकारको शरीर नरहे पनि पर्दामा कैद भएको काम र योगदान सधैँ जीवित रहने बताए।

तर प्रिमियरको सबैभन्दा भावुक क्षण सुनिल थापाका छोरा अनमोल थापाको प्रतिक्रिया बन्यो। ठूलो पर्दामा अन्तिम पटक बुवालाई देख्दा पुराना सम्झना ताजा भएको उनले बताए।

‘मेरो लागि यो एकदमै भावुक क्षण हो। उहाँको आवाज सुन्दा र बोल्ने शैली देख्दा धेरै पुराना कुराहरू फ्ल्यासब्याकजस्तै आउँछन्। तर ठूलो पर्दामा उहाँलाई अन्तिम पटक देख्न पाउनु राम्रो कुरा पनि हो,’ उनले भने।

अनमोलले फिल्म आफूलाई निकै मन परेको बताउँदै यसको शैली सामान्य नेपाली फिल्मभन्दा फरक र हलिउड फिल्मको प्रस्तुतिसँग मिल्दोजुल्दो लागेको प्रतिक्रिया दिए। नेपालमा रहेको विशेष विषयलाई विश्वव्यापी रूपमा चिनाउने प्रयासका रूपमा पनि उनले फिल्मलाई व्याख्या गरे।

सन् १९९० को परिवेशमा आधारित ‘हिमालयन गोल्ड’ले यार्सागुम्बा टिप्न जाने व्यक्तिमाथि हुने लुटपाट, सुरक्षा अभाव र त्यससँग जोडिएका घटनालाई कथाको केन्द्रमा राखेको छ। रुकुम, डोल्पा, रोल्पा र मनाङका समुदायको यार्सागुम्बासँग जोडिएको जीवन र निर्भरता पनि फिल्ममा प्रस्तुत गरिएको छ।

ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कर्मा शाक्य, परीक्षा लिम्बु, सुनिल थापा, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्याललगायतको अभिनय छ।

धीराज राजवंशीको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा दीपेन्द्र गौचन र धीराज राजवंशीले लेखेका हुन्। मीनबहादुर भाम निर्माता, सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माता हुन्।

भारतमा एए फिल्म्सले फिल्म वितरण गर्नेछ। नेपालमा एप्पल इन्टरटेनमेन्ट, जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्ट र मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्सले वितरण गर्नेछन्। नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने फिल्मको अग्रिम टिकट बिक्री सुरु भइसकेको छ।

सम्बन्धित समाचार

सबै