‘पूजा सर : राजागंज’को पोस्टर सार्वजनिक गरिएको छ ।
चैत १ गते रिलिज हुने चलचित्रको पोस्टर निर्माणपक्षले आज सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिन्छ ।
दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डक पोस्टरमा छन् ।
दयाहाङ प्रहरी एसपीको पोशाकमा देखिएका छन् । कुनै घटनाका लागि तयार रहेको प्रहरी टोलीजस्तो देखिएको छ । ‘पूजा सर ः राजागंज’लाई ‘ह्वाइट सन’ फेम्ड निर्देशक दीपक रौनियारले निर्देशन गरेका छन् ।
रौनियार तिनै निर्देशक हुन जसको पछिल्लो रिलिज ‘ह्वाइट सन’को प्रशंसा विश्वविख्यात ब्राजिली लेखक पाउलो कोहेलो समेतले प्रशंसा गरेका थिए ।
अन्तर्राष्ट्रिय ध्यानसमेत खिच्न सफल सिनेमाले नेपाल प्रदर्शनमा राम्रो व्यापार गर्ने अपेक्षासमेत गरेको छ।
यो सिनेमालाई ‘द न्यूयोर्क टाइम्स’ले हेर्नुपर्ने ९ नव निर्देशकको सूचिमासमेत राखेको थियो । सिनेमालाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गरेका छन् ।
यस्तै यो सिनेमाको कार्यकारी निर्मातामा बलिउडका चर्चित निर्देशक अनुराग कश्यपसमेत जोडिएका छन् । उनी जोडिनुले पनि सिनेमाप्रति थप आशा जगाउने अनुमान गरिदैं आइएको छ ।
सिनेमालाई पुलिस थ्रिलरको जनरामा राखिएको छ ।
सिनेमामा ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको पनि अभिनय रहेको छ ।
