बाल विवाह तथा महिला हिंसा विरुद्ध निर्माण गरिएको ‘जुनाः एक व्यथा’ सिनेमाको दोस्रो पोस्टर सार्वजनिक भएको छ।
आगामी माघ २५ गते रिलिज हुने यो फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो। फिल्मका निर्देशक जीवन सेञ्चुरी हुन्।
सार्वजनिक पोस्टरमा प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई प्रस्तुत गरिएको छ।
विवाहित अस्मिता काखमा सन्तान बोकेर निराश मुद्रामा कतै टोलाएकी देखिन्छिन्। त्यस्तै, कृष्णप्रसाद धिताल कोहीप्रति रिस व्यक्त गरिरहेका छन्। दाह्री, जुँगा, दौरा र टोपीको गेटअपमा देखिएका उनको कर्के नजर र अनुहारको भावले आक्रोश झल्किन्छ। पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन्।
फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय रहेको छ।
निर्देशक सेञ्चुरीका अनुसार फिल्मले ‘बाल विवाह सामाजिक अपराध हो। त्यसकारण, यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको छ। उनले भने, ‘‘‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म हो। नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडीजस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस फिल्ममार्फत सम्बोधन गर्ने प्रयास गरिएको छ।’’
उनले थपे, फिल्मले बाल विवाह र महिलाको मुद्दा बोकेको हुनाले नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने लक्ष्यलाई सघाउनेछ।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको यस फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी रहेको छ। फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर, र रामेश्वर हुमागाईंको छायांकन (डिओपी) छ।
फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्। यो फिल्म पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरू, विज्ञ, लेखक र समालोचकहरूले हेरिसकेका छन्।
