
थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण यही पुस २८ गते आइतबारदेखि माघ १ गते मंगलबारसम्म आयोजना हुने भएको छ।
महोत्सवमा शर्ट फिल्म, फिचर फिल्म, र डकुमेन्ट्री गरी जम्मा २० फिल्म प्रदर्शन गरिनेछन्। सहभागी हुन पेस भएका ४६ फिल्ममध्येबाट २० फिल्म छानिएको आयोजक थाहा कला केन्द्रले जनाएको छ।
मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीमा आयोजना हुने यस महोत्सवमा ‘पखेटा’, ‘टुल्की’, ‘बाटो’, ‘लाखे’, ‘सतिदेवी’, ‘मोदिवेनी’ लगायतका फिचर फिल्महरू प्रदर्शन गरिनेछ। शर्ट फिल्मतर्फ ‘बेली’, ‘अन्तवार्ता’, ‘द रोप अफ होप’, ‘निर्देश’, ‘दुई सय रुपैयाँ’, ‘खिल’ लगायतका फिल्म छन्। यस्तै, डकुमेन्ट्रीतर्फ ‘हिउँ चितुवा’, ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ लगायतका फिल्म प्रदर्शन गरिनेछन्।
महोत्सवमा फिल्म प्रदर्शनीसँगै ‘फिल्म समीक्षा’ र ‘नेपाली सिनेमाको विविधता’जस्ता समसामयिक विषयमाथि छलफल गरिनेछ।
पर्यटकीय गन्तव्यका रूपमा परिचित र सांस्कृतिक रूपमा पनि धनी थाहा नगरपालिका फिल्म छायांकनका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ। ‘पर्यटनका लागि चलचित्र’ नारासहित आयोजना हुँदै आएको यस महोत्सवले फिल्ममार्फत् आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
महोत्सव संयोजक प्रमोदकृष्ण जोशीका अनुसार, ‘काठमाडौँ र हेटौंडाजस्ता सहरको नजिक रहेर पनि थाहा नगरपालिकामा हालसम्म कुनै सिनेमा हल सञ्चालनमा छैन।
यसले गर्दा सहजै सिनेमा हेर्न नपाउने यहाँका दर्शकलाई लक्षित गरी यो महोत्सव आयोजना गरिएको हो।’ उनले थपे, ‘फिल्म हेर्ने बहानामा आन्तरिक पर्यटन पनि फस्टाओस् भन्ने हाम्रो उद्देश्य हो।’