
निर्देशक प्रशान्त तामाङको फिल्म ‘सारंग’ को टिजर बिहीबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ।
माघ २५ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्मको झण्डै एक मिनेट लामो टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर, साथीसँगको प्रेम र समर्पणका विषय प्रस्तुत गरिएको छ। टिजरमा शहरिया जीवनशैली र आपसी सम्बन्धलाई निकै सुन्दर तरिकाले उजागर गरिएको पाइन्छ।
कोरियोग्राफरका रूपमा परिचित निर्देशक तामाङको लेखन रहेको यस फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गरेका छन्।
निर्देशक तामाङले फिल्ममा बाल मनोविज्ञान, बाल अधिकार, धनी र गरिब परिवार बीचको खाड्लको यथार्थ कथा प्रस्तुत गरेको बताउँछन्।
दर्शन बुद्ध फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन्। पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेका छन्।
फिल्मका गीतमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, डिपी खनालको गीत र सुष्मा राईको कोरियोग्राफी छ। फिल्मको डिओपी गोपाल राय हुन्। मित्र डि गुरुङले सम्पादन गरेका यस फिल्मको वितरण स्टेशन ५ ले गर्दैछ।