समर निरौलाको निर्देशनमा निर्माण गरिएको सिनेमा ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको दोस्रो पोस्टरमा अभिनेत्री प्रियंका कार्की डर मिश्रित भावमा केही हेरिरहेकी देखिन्छिन्। उनको छेउमा एउटा कालो बिरालो पनि देखिन्छ।
पुरानो घरको आँगनमा उभिएकी प्रियंका र उनको पछाडि रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती, बाल कलाकार आयुषी ढकाल, र जेभिस श्रेष्ठको तस्वीर देख्न सकिन्छ। फोटो फ्रेमको काँच फुटेको देखिन्छ, जसले घरमा रहेको नकारात्मक शक्तिले आक्रमण गरेको संकेत दिन्छ। सार्वजनिक यो पोस्टरले दर्शकमाझ सिनेमा प्रतिको कौतूहलता बढाउने निर्माण टिमको विश्वास छ।
हरर फ्यामिली ड्रामा विधाको यो सिनेमामा प्रियंका कार्कीका साथै दीया मास्के र सुलक्षण भारती मुख्य भूमिकामा छन्। सिनेमामा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको यो सिनेमामा समर निरौला र पूर्णिमा जोशीले लेखन गरेका छन्। सिनेमाका निर्माता लोक राज जोशी र पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्माता सुमन कोइराला रहेका छन्।

‘ममी’को छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रूपमा गरेका हुन्। सिनेमाको सम्पादन सुरेन महर्जनले गरेका छन्। पाश्र्व ध्वनी रोहित शाक्यको रहेको छ भने साउन्ड डिजाईनमा श्रवल आरपी, रंग संयोजनमा दीपेश चौधरी, र संगीतकारको भूमिकामा एसडी योगी रहेका छन्।
सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछन्।