चैत २९ गतेदेखि प्रदर्शन हुने एक्सन फिल्म ‘पिताम्बर’को टिजर सार्वजनिक भएको छ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममार्फत निर्माण टिमले टिजर सार्वजनिक गरेको हो।
फिल्मका कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा हि धर्मस्य’ वाचन गर्दै सुरु हुने टिजरमा कलाकार प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, र रविन्द्र झालगायत अटाएका छन्।
बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक टिजरमा प्रदीप र सौगातको एक्सनलाई विशेष प्राथमिकता दिइएको छ। टिजरमा रविन्द्र झाले बोलेको संवाद, ‘कथामा बहुत ट्वीस्ट भयो, दुईवटा पिताम्बरको एउटै कथा छ,’ ले फिल्ममा दुई पिताम्बर पात्र हुन सक्ने संकेत गर्छ।
निर्देशक कृषाले हरेक फिल्म नयाँ कथा अनुसार निर्माण हुने बताउँदै ‘पिताम्बर’ पनि नयाँ कथामा आधारित रहेको जनाइन्। उनले ठूलो क्यानभासमा उत्कृष्ट फिल्म बनाएको उल्लेख गर्दै ट्रेलरमा त्यो कुरा झल्कने बताइन्।
नायक प्रदीप खड्काले एक्सनले धेरै कुरा व्यक्त गर्ने बताए। उनले टिजरमा फिल्मको मुख्य पक्ष केही हदसम्म देखिएको दाबी गर्दै ‘पिताम्बर’ आफ्नो करियरको नयाँ उचाइ हुने धारणा राखे। प्रदीपले स्क्रिप्टभन्दा पनि निर्देशक कृषाको इन्टेन्सनलाई ध्यानमा राखेर काम गरेको खुलासा गरे।
निर्माता विशाल चौलागाईंले फिल्ममा आफ्नो रुचि बढ्दै गएको बताए।
उनले फिल्म निर्माणमा आफ्नो दिदी कृषाको लगावप्रति नतमस्तक रहेको उल्लेख गर्दै साथीभाइहरू आफू फिल्ममा सक्रिय हुँदा छक्क परेको बताए। पेशाले मेडिकल व्यवसायी रहेका विशालले यसअघि कृषाको निर्देशनमा बनेको ‘ऐंचो पैचो’ निर्माण गरेका थिए।
नायिका सुरक्षा पन्तले उत्कृष्ट टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताइन्।
नायिका सुपुष्पा भट्टले आफूले ‘इमोसनल’ चरित्र निर्वाह गरेकोले त्यसले आफ्नो क्षमता अभिवृद्धि गरेको भनिन्। नायिका दिव्या रायमाझीले पनि फिल्म आफ्ना लागि विशेष बनेको बताइन्।
फिल्म ‘ऐंचो पैचो’बाट निर्देशनको यात्रा सुरु गरेकी कृषाले यसअघि ‘इन्साफ,’ ‘कसम हजुरको,’ ‘के म तिम्रो साथी बन्न सक्छु,’ र ‘पलास’ जस्ता फिल्म निर्माण गरिसकेकी छन्।
केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पिताम्बर’मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, र टिका पहाडी लगायतका कलाकारको अभिनय छ।
फिल्ममा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं, र सुप्रोल बुढाथोकी (अनमोल) ले अभिनय गरेका छन्।
निर्माता विशाल चौलागाईं, सह-निर्माताहरू पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं, कार्यकारी निर्माता सुमन गौतम, पटकथा लेखक प्रदीप भारद्वाज र अभिमन्यु निरवी, छायांकन पुरुषोत्तम प्रधान, शेरबहादुर लामा र मानकृष्ण महर्जन, सम्पादन बन्दे प्रसाद, संगीत आशीष अविरल र बाबुल गिरी, तथा द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन्।
फिल्म आरआर फिल्म्सले वितरण गर्नेछ।