गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यू निर्देशन ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ युट्युबको ट्रेन्डिङमा आएको छ।
यो समाचार तयार पार्दासम्म गीत संगीततर्फको युट्युब ट्रेन्डिङको तेस्रो स्थानमा छ। हालसम्म गीतले १२ लाख ४० हजार भन्दा बढि भ्यूज पाइसकेको छ ।
गीतले शब्द रचना, संगीत, तथा अडियो-भिडियोका लागि उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिरहेको छ ।
विशेषगरी गीतका लेखक, संगीतकार र गायकसमेत रहेका प्रकाश सपुतले यसका लागि प्रशंसा बटुलिरहेका छन् ।
गीतको कमेन्टबक्समा दर्शक दीपक विश्वकर्माले लेखेका छन्, “प्रकाश सपुतको यो कलालाई उच्च सम्मान छ। यो सिनेमा ‘वसन्त’ सुपरहिट होस्। शुभकामना!” अर्का दर्शक अनिलले भने, “म प्रकाश सपुतको प्रतिभा र क्षमता देखेर चकित छु। उहाँ साँच्चिकै भगवानको विशेष सिर्जना जस्तो लाग्छ। आहा, कति प्रतिभाशाली व्यक्ति!”
त्यस्तै, दर्शक दीपक बस्नेतले लेखेका छन्, “हाम्रो पुरानो सभ्यता र संस्कृति जोगाउन हालको एक मात्र व्यक्ति प्रकाश सपूत हुन्। तपाईँ साँच्चै सपूत हुनुहुन्छ।” हिमाल सागर हिङमाङले भनेका छन्, “प्रकाश दाइको मौलिक प्रस्तुतिले नयाँ पुस्तालाई नेपाली लोकगीतहरूप्रति आकर्षित बनाउँदैछ। सिनेमाको सम्पूर्ण टिमलाई सफलताको शुभकामना।”
गीतमा गायिका शान्तिश्री परियारले प्रकाश सपुतलाई गायनमा साथ दिएकी छन्। उनको स्वरमा आएका गीतहरू प्रायः युट्युब ट्रेन्डिङमा रहँदै चर्चाको शिखरमा पुग्ने गरेका छन्। यस गीतले पनि दर्शकहरूमाझ वसन्तको प्रतिक्षा र उत्साहलाई अझै बढाएको छ।
सार्वजनिक भिडियोमा देखिएका सबै कलाकारहरू, विशेषगरी प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्काको जोडीलाई दर्शकले निकै रुचाएका छन्। सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ।
गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा, र संगीत समेत प्रकाश सपुतकै सिर्जना हो। सिनेमा एक विपन्न विश्वकर्मा समुदायका युवकको लेखक बन्ने सपनाको संघर्षको कथा हो।
सिनेमाका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली, र विरेन्द्र नारायण श्रेष्ठ छन्। सिनेमा सुसन प्रजापतिले खिचेका हुन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले सिनेमालाई वितरण गर्नेछ।