
जुनिम गहतराज निर्देशित ‘ताण्डवम्’ सिनेमाले पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको छ।
घोषणा अनुसार सिनेमा फागुन ९ गते रिलिज हुनेछ ।
सार्वजनिक पोस्टरमा सिनेमाका प्रमुख कलाकारहरूको क्यारेक्टर लुक्स देख्न सकिन्छ।
पोस्टरमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र निर्देशक जुनिम गहतराजलाई प्रस्तुत भएका छन्।
कलरिस्टका रूपमा ख्याति कमाएका जुनिमको यो डेब्यू निर्देशन हो । सिनेमामा कमल कार्की र गोपाल कटुवालले पनि अभिनय गरेका छन्।
सिनेमामा धार्मिक पृष्ठभूमिसँगै नामअनुसारको सांस्कृतिक सम्बन्ध पनि रहेको निर्माण टिमले उल्लेख गरेको छ।
एक नवविवाहित जोडीको कथामा सिनेमामा आधारित छ, जसले आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहेका बेला उनीहरूको जीवनमा अकल्पनीय घटनाहरूले ल्याउने उतारचढावलाई पारिवारिक र एक्सन थ्रिलर शैलीमा प्रस्तुत गरिएको छ।
सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्।
हरि घले लामाको छायांकन रहेको यस सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक रहेको छ। अनिरुद्ध आत्रेय र हुसेनले कथा, पटकथा तथा संवाद लेखेका छन्।
निर्देशक जुनिम गहतराजले यसअघि ‘पानीफोटो’, ‘पशुपति प्रसाद २: भष्मेडन’, ‘खुस्मा’, ‘चिसो मान्छे’, र ‘परस्त्री’ जस्ता दर्जनौँ फिल्ममा कलरिस्टका रूपमा काम गरिसकेका छन्।