
बाल विवाह र महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको श ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक भएको छ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको यो फिल्म आगामी माघ २५ गते प्रदर्शनमा आउनेछ।
फिल्मको निर्देशन जीवन सेञ्चुरीले गरेका छन्। ओएसआर डिजिटलमार्फत सार्वजनिक टिजरमा प्रमुख कलाकार अस्मिता ढकालको चरित्रले भोगेको पीडा देखाइएको छ। अनमेल विवाहका कारण एउटी महिलाको जीवनमा पर्ने प्रभावलाई टिजरले अस्मिताको माध्यमबाट उजागर गरेको छ।
फिल्ममा अस्मिता ढकालसँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा, र खगेन्द्र न्यौपानेको अभिनय देख्न सकिन्छ।
निर्देशक सेञ्चुरीका अनुसार फिल्मले “बाल विवाह सामाजिक अपराध हो, यसलाई अन्त्य गरौं” भन्ने नारालाई प्रचार गर्ने उद्देश्य लिएको छ। उनले भने, “जुनाः एक व्यथा ऐतिहासिक र सामाजिक सन्देश बोकेको फिल्म हो। नेपाली समाजमा जरा गाढेका महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, र छाउपडी जस्ता कुरीतिहरूको अन्त्य गर्न यो फिल्मले सन्देश पुर्याउनेछ।”
निर्देशक सेञ्चुरीले यो फिल्मले नेपाल सरकारले सन् २०३० सम्म बाल विवाह अन्त्य गर्ने लक्ष्यलाई सघाउने विश्वास व्यक्त गरे।
पर्वत जिल्लाको सालिजा ओख्रेनी क्षेत्रमा छायांकन गरिएको यो फिल्ममा दीपकप्रसाद घिमिरेले लगानी गरेका छन्। फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी, र यदुराई लकान्द्रीको स्वर, तथा रामेश्वर हुमागाईंको डिओपी छ।
फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट, र एफडी कम्पनीले गर्नेछन्।