
‘कार्साङ’ सिनेमाले आफ्नो ६ दिनको कमाइ सार्वजनिक गरेको छ ।
उसले सार्वजनिक गरेको विवरण अनुसार ६ दिनमा उसको कमाइ एक करोड ४५ लाख रुपैयाँ ग्रस रहेको छ ।
सुरुका दिनमा केही कम दर्शक देखिए पनि विस्तारै यस सिनेमामा दर्शकको संख्या बढ्दै गएको वितरक कम्पनी आरआर फिल्म्सले जनाएको छ।
माघ १ गतेबाट हलमा दर्शकको चाप बढ्दै जाँदा आकर्षक ग्रस कलेक्सन भएको उसको भनाइ छ ।
बुधबार पनि सिनेमाले राम्रो कलेक्सन गरेको वितरकको भनाइ छ। सिनेमा ‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेका हुन्।
‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा बनेको यो सिनेमाका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।
सिनेमाका कलाकार अहिले प्रचारका क्रममा पूर्वी नेपालमा छन्। हलहरूमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन्।