
फागुन १४ को रिलिज मिति नजिकिँदै गर्दा ‘मायावी’ सिनेमा महोत्सवहरूमा उपस्थित हुन थालेको छ।
अहिले देशभर संगीतिक र व्यापारिक महोत्सवको मौसम चलिरहेको छ र ती महोत्सवहरूमा कलाकारहरूलाई भ्याइनभ्याइ छ। यही माहोललाई ‘मायावी’ सिनेमाले क्यास गरेको हो।
यो कामलाई सिनेमाका प्रमुख अभिनेता पल शाहले प्राथमिकतामा राखेका छन्। महोत्सवहरूमा डिमान्डेड, उनले आफ्नो सिनेमाको प्रचारमा ती महोत्सवहरूको राम्रै उपयोग गरिरहेका छन्। सिनेमाको प्रचारलाई आक्रमक बनाउन उनले बेनीमा आयोजना भएको महोत्सवमा ‘मायावी’ सिनेमामा समाविष्ट ‘टल टल’ बोलको गीत रिलिज गरे भने बारा पुगेर यही गीतमा दर्शकलाई झुमाए। यसक्रममा पलले दर्शकलाई सिनेमाका बारेमा प्रश्न सोध्ने र टिसर्ट उपहार दिने कामसमेत गरे।
फिल्म हेर्नका लागि दर्शक आतुर रहेको पलको बुझाइ छ। दर्शकको बढ्दो उत्साहले आफू निकै खुशी भएको पलको भनाइ छ। शाहले ‘मायावी’ एउटा विशुद्ध प्रेमकथा र मित्रताको कथा भएको सिनेमा भन्दै दर्शकलाई हेर्न आग्रह गरिरहेका छन्।
दिवाकर भट्टराइको निर्देशित सिनेमामा पलको साथमा दीपिका प्रसाँई, सुशिल सिटौला, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, नव–नायक समिम खान लगायतका कलाकारहरूको अभिनय छ। लामो समयदेखि एक विशुद्ध प्रेमकथामा बनेको फिल्म हेर्न नपाइरहेको समयमा ‘मायावी’ दर्शकको रोजाइमा पर्ने विश्वासमा निर्माण पक्ष रहेको छ।