
“माया, तिमी यसलाई एक घटना सम्झ, विन्ती यसलाई दुर्घटना नसम्झ।
सम्झ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो।”
माथि उल्लेखित कविताको हरफ फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म दुखी आत्मामा समावेश गरिएको छ।
कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरू यस फिल्ममा समावेश छन्, जसमा यसको निर्माण पक्षले पहिलो कविता सार्वजनिक गरेको छ। यसलाई ‘ब्रेकअप कविता’को रूपमा सार्वजनिक गरिएको छ।
सार्वजनिक कवितामा दयाहाङ राइको आवाज सुन्न पाइन्छ। सार्वजनिक भिडियोमा दया नायिका आँचल शर्माको अगाडि बसेर कविता सुनाइरहेका छन्, जबकि आँचल ध्यान दिएर उनीले सुनाएको कविता सुन्दैछिन्। यसले फिल्ममा दया शायद कविको भूमिकामा त छैनन् भन्ने अड्कल लगाउन सकिन्छ।
क्लक वर्क क्रियेशनको ब्यानरमा निर्माण भएको यो फिल्म हिमाल कडरियाले निर्माण गरेका हुन्। फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका छन्।
सुदिप बराल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ।
फिल्ममा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारहरूको अभिनय छ।
फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ। यो फिल्मलाई निर्माण पक्षले एडल्ट ड्रामा भनेको छ। फिल्मको टिजर सार्वजनिक भएपछि यसको चर्चा ह्वात्तै बढेको छ।