‘वसन्त’ सिनेमाको ‘साँझ पर्यो झमक्क’ बोलको गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको छ।
सार्वजनिक भएबाट नै गीतले दर्शकबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाउन थालेको थियो । गीतले हालसम्म करिब २३ लाख भ्यूज पाइसकेको छ।
युट्युबको म्युजिक सेक्सनमा शीर्ष स्थान कब्जा गरेको गीतले हालसम्म ८७ हजार लाइक र तीन हजार ८ सयभन्दा बढी कमेन्ट प्राप्त गरिसकेको छ। योसँगै लामो समयदेखि सर्टस् भिडियोको वर्चश्व रहेको युट्युब ट्रेन्डिङको मुख्य सेक्सनमा पनि यो गीत पाँचौं स्थानमा उक्लिएको छ।
गीतको कमेन्ट बक्समा हेर्दा लोकेसन, कोरियोग्राफी, गायन, र मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काको तारिफले भरिएको देखिन्छ। यो गीतका शब्द रचना, संगीत, र अडियो-भिडियो दुवै पक्षलाई अब्बल भनिएको छ। गायक, अभिनेता, र निर्देशक प्रकाश सपुतले लेखेको र संगीत भरेको यस गीतमा चर्चित गायिका शान्तिश्री परियारको आवाज पनि समावेश छ।
प्रकाश सपुतकै निर्देशन र लेखन रहेको वसन्तमा स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, र प्रकाश घिमिरेलगायतका कलाकारले अभिनय गरेका छन्।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो सोसल ड्रामा सिनेमा विपन्न विश्वकर्मा समुदायका छोराको लेखक बन्ने सपना र त्यो सपनालाई पूरा गर्न गरेको संघर्षको कथामा आधारित छ।
सिनेमाका निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन्, जबकि कार्यकारी निर्माताको भूमिकामा अनुरोध भट्टराई, नाना थकाली, र विरेन्द्र नारायण श्रेष्ठ छन्। सुसन प्रजापतिले खिचेको यो सिनेमा काठमाडौं उपत्यकामा डीसीएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन्।