माघ २५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म सारंगको गीत ‘तिमी नै हौ’ बिहीबार ओएसआर डिजिटलद्वारा सार्वजनिक गरिएको छ।
निर्देशक प्रशान्त तामाङको लेखन, निर्माण र निर्देशनमा बनेको यो फिल्मको गीतमा दुई साथी, बालकलाकार आदित्य कार्की र सम्राट थापाबीचको प्रेम, साथ, समर्पण र आत्मीयता प्रस्तुत गरिएको छ।
देवेन्द्र बरालको स्वरमा रहेको गीतका शब्द सुमन सिंगलले लेखेका छन् भने संगीत शंकर थापा स्माइलको रहेको छ। गीतको कोरियोग्राफी सुष्मा राईले गरेकी हुन्। केही दिनअघि सार्वजनिक गरिएको फिल्मको टिजरले प्रशंसा पाएपछि दर्शकमाझ ‘फ्रेन्ड सङ’ गीत ल्याइएको हो।
फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ जस्ता कलाकारहरूको अभिनय रहेको छ भने बालकलाकार सम्राट थापा र आदित्य कार्की प्रमुख भूमिकामा छन्।
बाल मनोविज्ञान, बालअधिकार, र धनी–गरिब परिवारबीचको खाडलको यथार्थ कथा प्रस्तुत गर्ने भनिएको यो फिल्मका निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन्। सहनिर्माता पुष्पा लिम्बू र बिनु गुरुङ छन्।
फिल्मको छायांकन गोपाल रायले गरेका छन् भने सम्पादन मित्र डि गुरुङले गरेका छन्। दर्शन बुद्ध फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मलाई स्टेशन ५ ले देशभर वितरण गर्नेछ ।