‘रंगी’का लागि देश दौडाहामा सलोन र दुर्गेश, सुखद प्रतिक्रिया बटुल्दै टिजर र गीत

0 Shares

फागुन २ गतेबाट रिलिज हुने ‘रंगी’ सिनेमा आफ्नो टिजर र गीत ‘छ भने माया’का कारण चर्चामा रहेको छ।

बाबुछोरीको कथामा आधारित फिल्ममा सलोन बस्नेत, आयुषी ढकाल र नम्रता श्रेष्ठ प्रमुख भूमिकामा छन्।

सलोन प्रस्तुतकर्ता भएको फिल्मको प्रचारका लागि सलोन र ‘छ भने माया’का गीतकार तथा संगीतकार दुर्गेश थापा महोत्सव दौडाहामा छन्।

उनीहरूले हालैमात्र बर्दियाको बासगढी महोत्सवबाट फिल्मको प्रचारप्रसार सुरु गरेका छन्। गायकगायिका तथा फिल्मका कलाकारहरूको लागि महोत्सव आफ्नो फिल्म र गीतको प्रचार गर्ने उत्कृष्ट प्लेटफर्म बनिरहेको बेला सलोनले पनि यो अवसर गुमाउन चाहेनन्।

सलोनका अनुसार महोत्सवमा दुर्गेशले ‘छ भने माया’ गाउँदा सलोन भने नाचेका थिए। उनले आफू पहिलो पटक निर्माता रूपमा दर्शकमाझ आउन लागेको बताए र आफ्ना अघिल्ला फिल्महरूको जस्तै ‘रंगी’लाई पनि माया गरिदिन आग्रह गरे।

“महोत्सवमा सयौं दर्शकमाझ फिल्मको प्रचारप्रसार गर्न पाउँदा निकै खुशी लाग्दो रहेछ। दर्शकले हाम्रो फिल्मलाई राम्रो साथ दिनुहुनेछ भन्नेमा म ढुक्क छु,” उनले भने।

सुरेश न्यौपानेको निर्देशनमा बनेको फिल्म ‘रंगी’ सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको हो। फिल्ममा सलोन, नम्रता र आयुषीसँगै दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको पनि अभिनय छ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ।

फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।

सम्बन्धित समाचार

सबै