
वरिष्ठ गीतकार शुभ मुकारुङको दोस्रो गीति संग्रह “यतै अल्मलिएँ” लोकार्पण गरिएको छ।
गीतकार संघ नेपालको आयोजनामा काठमाडौंको पुतलीसडकस्थित ग्रीन लिफ फूड होटलमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो। यसअघि, उनको पहिलो गीति संग्रह “पुग्नु कहाँ थियो” पनि लोकप्रिय भइसकेको छ।
कार्यक्रमका विशेष अतिथिहरूमा पूर्वमन्त्री तथा वरिष्ठ गीतकार एस.पी. कोइराला, गीतकार संघका पूर्वअध्यक्ष चुडामणि देवकोटा, वरिष्ठ सास्कृतिकविद भक्त राई, वरिष्ठ गायक दिलेन्द्र मुकारुङ, वरिष्ठ गीतकार शीतल कादम्बिनी, चर्चित कवि तथा गीतकार चन्द्र रानाहोङ्छा, र बिपिन किरणलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
गीतकार संघका पूर्वअध्यक्ष समेत रहेका शुभ मुकारुङले करिब साढे तीन दशक लामो साहित्यिक यात्रामा जीवन यापन र लोक सन्दर्भमा आधारित सिर्जना गर्दै आएका छन्। कार्यक्रमको दिन स्रष्टाका छोरा रियोङ हाङ मुकारुङको जन्मदिन परेकोले, यो दिनलाई झन् विशेष बनायो।
कार्यक्रममा बोल्दै गीतकार संघका पूर्वअध्यक्ष चुडामणि देवकोटाले भने, “शुभ मुकारुङ चिनाइरहनुपर्ने नाम होइन। उहाँको शब्दमा नातिकाजीले समेत संगीत दिएका छन्। उहाँको यो दोस्रो गीति संग्रह अवर्णनीय छ। गीतकार संघलाई उचाइमा पुर्याउन उहाँको ठूलो योगदान रहेको छ।”
त्यसैगरी, वरिष्ठ गीतकार अमर बान्तुले आफ्नो मन्तव्य व्यक्त गर्दै भने, “सिर्जनाको हिसाबले शुभ मुकारुङ मभन्दा वरिष्ठ हुनुहुन्छ। उहाँको एउटा भनाइ ‘म कुनै स्रष्टाबाट प्रभावित भएर लेख्दिनँ, आफैं लेख्छु,’ भन्ने मलाई प्रेरणादायी लाग्यो। उहाँको आफ्नै क्षमताले भरिएको यो संग्रह प्रशंसनीय छ।”
वरिष्ठ सास्कृतिकविद भक्त राईले भने, “साहित्यिक यात्रामा जोखिम मोल्नुपर्छ। शुभ मुकारुङले यही जोखिम उठाउँदै यो उपलब्धि हासिल गर्नुभएको हो। उहाँको सिर्जनाले जिन्दगीको सार्थक कमाइलाई उजागर गरेको छ।”
पूर्वमन्त्री एस.पी. कोइरालाले गीतको महत्वबारे चर्चा गर्दै भने, “गीतहरूलाई मनोरञ्जनको साधन मात्र ठान्ने सोच गलत हो। गीत समाजको आँखा हो, र शुभ मुकारुङको सिर्जनाले यसलाई प्रमाणित गर्छ। उहाँ भोजपुरको माटोमा जन्मिएको एउटा उत्कृष्ट बिरुवा हुनुहुन्छ।”
कार्यक्रममा प्राज्ञ राजन मुकारुङले पनि मन्तव्य राख्दै भने, “यो पुस्तकले शुभ मुकारुङलाई अलमलाएको होइन, उभ्याएको छ। यसले समाजको चेतना उजागर गर्न जिम्मेवारी प्रदान गरेको छ।”
स्रष्टाको मन्तव्य स्रष्टा शुभ मुकारुङले आफ्नो सिर्जनाबारे बोल्दै भने, “‘यतै अल्मलिएँ’ भन्ने सिर्जना क्षेत्रमै अलमलिएको कथा हो। यो सिर्जना जीवन र लोक सन्दर्भमा आधारित छ। दर्शक, स्रोताले सधैं साथ दिनुभएको छ। यसपटक पनि सुझाब र कमीकमजोरीका सुझाव प्राप्त हुने आशा गर्दछु।”
कार्यक्रमको अध्यक्षता गीतकार संघ नेपालका अध्यक्ष वरिष्ठ गीतकार बसन्त बित्यासी थापाले गरेका थिए भने उपाध्यक्ष रमेश कोइरालाले कार्यक्रमको सञ्चालन गरेका थिए। कार्यक्रममा गीतकार, संगीतकार, सञ्चारकर्मी र अन्य विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।