
सार्वजनिक भएको ३ दिनमा नेपाली चलचित्र ‘एक्टरः टेक वन’को ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । यो समाचार तयार पार्दासम्म दर्शकको मन जित्दै यो ट्रेलर १७ लाख भ्युजसहित ट्रेन्डिङमा रहेको छ ।
गत शुक्रवार काठमाडौंमा एक समारोहको आयोजना गरी यही माघ १६ गते यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।
रोमाञ्चक शैलीमा तयार पारिएको ट्रेलरले उल्लेख्य प्रशंसा प्राप्त गरेको छ । सार्वजनिक भएको छोटो समयमा नै ट्रेलरलाई लाखौँ दर्शकले युट्युबसहित अन्य विभिन्न इन्टरनेट प्लेटफर्महरूमा हेरिरहेका छन् ।
राजन भुसालद्वारा निर्देशित यस चलचित्रको ट्रेलरले प्रदीप खड्काको महत्त्वाकाङ्क्षी चरित्रलाई केन्द्रमा राख्दै त्रिकोणात्मक प्रेमकथा र कठिन सङ्घर्षको कथा प्रस्तुत गरेको छ । यसमा आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइराला जस्ता कलाकारहरूको अभिनयले चलचित्रलाई थप आकर्षक बनाएको छ ।
सिनेमाको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् ।
सिनेमामा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।
अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।
चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । सिनेमामा हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीको संगीत रहेको छ ।
यस्तै कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् । यस चलचित्रमा द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।