‘तपाईं नै कथा लेखेर देखाउनुहोस्’ भनेर विद्यार्थीहरूले चुनौती दिएपछि जन्मिएको ‘मिसिङ: केटी हराएको सूचना’

0 Shares

निर्देशक दीपेन्द्र गौचन यही शुक्रबारबाट आफ्नो फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ लिएर दर्शकमाझ आउँदैछन्।

३२ वर्षअघि फिल्म ‘उजेली’ बाट निर्देशनमा चर्चा कमाएका दीपेन्द्र ‘मिसिङ: केटी हराएको सूचना’ आफ्नो लागि चुनौतीपूर्ण कमब्याक मान्छन्। उनी २२ वर्षपछि ठूलो पर्दाको फिल्म निर्देशनमा फर्किएका हुन्।

दीपेन्द्रका अनुसार ‘मिसिङ: केटी हराएको सूचना’ को कथा लेखनको सुरुवात निकै रोचक छ। उनी भन्छन्, ‘‘म कम्बोडियामा अध्यापन गर्छु। विद्यार्थीहरूले ठूलो मान्छे बन्ने सपना देख्नु स्वाभाविक नै हो। मैले विद्यार्थीहरूलाई दुईजना पात्रको कथा लेख्न भनेँ। उनीहरूले दुई हप्तामा कथा लेखे, तर मैले सबै अस्वीकृत गरिदिएँ, किनकि त्यसभन्दा राम्रो कथा जन्मन्छ भन्नेमा म ढुक्क थिएँ। तर विद्यार्थीहरूले नयाँ कथा ल्याएनन्, उल्टो मलाई नै ‘तपाईं नै कथा लेखेर देखाउनुहोस्’ भनेर चुनौती दिए।’’

विद्यार्थीको चुनौतीलाई स्वीकार्दै दीपेन्द्रले एक कथा लेखे र त्यसको सर्ट फिल्म बनाए, जसले फेस्टिभलमा अवार्ड जित्यो।

कम्बोडियामा २२ वर्ष बिताएर नेपाल फर्किंदा दीपेन्द्रले यही कथा लिएर आए।

‘‘यहाँ आएपछि त्यो कथा नेपाली परिवेशमा झन् सुहाउँदो र अझ प्रगाढ हुने पाएँ। मधेस र पहाडको कथा देखाउँदा राम्रो हुन्छ भन्ने लाग्यो र मैले फिल्मको कथा लेखेँ,’’ उनी भन्छन्।

दीपेन्द्रका अनुसार स्क्रिप्ट फाइनल गर्न उनलाई झन्डै तीन महिना लाग्यो। उनले अङ्ग्रेजी भाषामा लेखेको स्क्रिप्टलाई दीपेन्द्र, अमित पोखरेल र अमितेष शाहले नेपालीकरण गरे।

स्क्रिप्ट अनुसार पात्र छनोट सही भएको दाबी गर्दै उनी भन्छन्, ‘‘हामीलाई काठमाडौंमा जन्मिएर यतै बसेको, मधेसी टोन कम भएको पात्र चाहिएको थियो। त्यो पात्र हामीले नाजिरमा पायौं। पहाडी लुक्समा सृष्टि श्रेष्ठ फिट भइन्, किनकि म उनलाई भेट्नेबित्तिकै प्रभावित भएँ। गोरो अनुहार, पहाडी लुक्स अनि अङ्ग्रेजी बोल्ने शैली फिल्मका लागि उपयुक्त लाग्यो।’’

फिल्मको ट्रेलरमा मधेसमा ‘नेपाली’ पहिचानको विषय उठान गरिएको छ।

‘‘मधेसको पात्र बनाएपछि रहनसहनको मात्र कुरा आउँदैन, मान्छे बौद्धिक भए पनि उसको मनमा भावना गढिएको हुन्छ। मधेस आन्दोलनको समयमा पहिचानको विषय पनि उठाइएको थियो। मधेसका जोकोही पात्रलाई ‘नेपालीपन’ को भावना अवश्य नै हुन्छ। जतिसुकै हासखेल रमाइलो गरे पनि राष्ट्रियताको मामलामा उनीहरूको अडान नै हुन्छ,’’ दीपेन्द्र बताउँछन्।

दीपेन्द्र ‘मिसिङ: केटी हराएको सूचना’ लाई महिला केन्द्रित फिल्म मान्छन्।

‘‘यो फिल्ममा मुख्य पात्र को हो भनेर दर्शकले छुट्याउन सक्दैनन्। राम (नाजिर) कि सीता (सृष्टि) – दुवैको भूमिका बराबरी छ। त्यो बराबरी दिनु महिलालाई प्राथमिकता दिनु हो। महिलालाई हिरोनी बनाएर अतिरञ्जित गर्नुहुदैन। म चाहिँ यो विषयलाई स्वाभाविक रूपमा प्रस्तुत गर्न चाहन्छु। मेरा लागि भगवान्ले नाजिर र सृष्टिलाई जुराइदिएको जस्तो लाग्छ,’’ उनी भन्छन्।

दीपेन्द्र ‘उजेली’सँगै ‘मुमिन’ फिल्मका लागि पनि परिचित छन्।

सम्बन्धित समाचार

सबै