‘एक्टर’ र ‘एक्टर : टेक वन’को नाम विवाद अदालत पुग्यो

0 Shares

गत माघ ४ गते प्रदर्शनमा आएको फिल्म ‘एक्टर’ र यही बुधबारबाट प्रदर्शन हुन लागेको ‘एक्टर : टेक वन’को नाम विवाद अदालतसम्म पुगेको छ।

‘एक्टर’ फिल्मका निर्माताले आइतबार जिल्ला अदालत काठमाडौंमा रिट दायर गर्दै अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गरेका छन्।

‘एक्टर’ फिल्मको प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टका तर्फबाट सम्राट थापाले दर्ता गराएको रिटमा प्रतिलिपि अधिकार उल्लङ्घन भएको दाबी गर्दै क्षतिपूर्ति दिन आदेश माग गरिएको छ।

सम्राटको भनाइमा ‘एक्टर’ नामको दुरुपयोग गरेर अर्को फिल्म निर्माण गरिनु अनैतिक भएको र यसबाट ठूलो आर्थिक तथा व्यावसायिक क्षति हुने अवस्था सिर्जना भएको उल्लेख छ।

रिट निवेदनमा उल्लेख गरिएअनुसार, ‘एक्टर’ फिल्मलाई दर्शकमाझ प्रचारप्रसार गर्दा अन्योलता उत्पन्न भएको र अपेक्षित व्यापार गर्न नसकेको दाबी गरिएको छ। साथै, फिल्मलाई विदेशमा प्रदर्शन गर्ने योजनामा पनि असर पर्ने भन्दै ‘एक्टर : टेक वन’को नाम परिवर्तन गर्न आदेश दिन अनुरोध गरिएको छ।

रिटमा फिल्मको प्रदर्शन मिति नजिकिँदै गरेको अवस्थामा तत्काल रोक आदेश जारी गर्न माग गर्दै भनिएको छ, ‘विपक्षीहरुले नाम र कथावस्तु चोरी गरेर फिल्म निर्माण गरेका छन्। यदि यही माघ १६ गते चलचित्र प्रदर्शन भएमा मुद्दाको औचित्य समाप्त हुने भएकाले अन्तिम किनारा नलागेसम्म प्रदर्शन रोक्नुपर्छ।’

यता, ‘एक्टर’ फिल्म बक्स अफिसमा असफल सावित भइसकेको छ। दर्शकको अभावका कारण प्रायः हलमा शो सञ्चालन हुन सकेन। मदन घिमिरे निर्देशित यस फिल्ममा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, मनीषा पाण्डे लगायतका कलाकार छन्।

दोस्रो तर्फ, राजन भुसालको डेब्यु निर्देशनमा तयार भएको ‘एक्टर : टेक वन’ले ट्रेलर र गीतमार्फत राम्रो चर्चा बटुलेको छ। यस फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, सुशील सिटौला, निश्चल बस्नेत जस्ता कलाकारको अभिनय रहेको छ। थमन भण्डारीको निर्माण रहेको यो फिल्म दर्शकमाझ प्रतिक्षित बनेको छ।

हाल, रिट दर्ता भइसकेपछि ‘एक्टर : टेक वन’को प्रदर्शनमा अन्योलता देखिने भएको छ।

 

 

सम्बन्धित समाचार

सबै