
पूर्ण बहादुरको सारङ्गी का निर्माता विनोद पौडेलले दुई नयाँ सिनेमा निर्माणको घोषणा गरेका छन्: पूर्ण बहादुरको सारङ्गी २ र रोल नं १।
पूर्ण बहादुरको सारङ्गी ले व्यापारिक दृष्टिकोणबाट ऐतिहासिक सफलता प्राप्त गरेपछि पौडेलले एउटै दिनमा दुई फिल्मको निर्माण गर्ने घोषणा गरेका हुन्।
आइतबार पौडेलले सक्सेस पार्टी आयोजना गरेका थिए। सो पार्टीको अवसरमा उनले पूर्ण बहादुरको सारङ्गी २ र रोल नं १ को निर्माण गर्ने निर्णय गरेका थिए।
पौडेलका अनुसार पूर्ण बहादुरको सारङ्गी २ बि.सं. २०८३ मा रिलिज हुनेछ। यद्यपि यस फिल्मको निर्देशन को गर्नेछन् भन्ने कुरा उनले खुलाएका छैनन्।
रोल नं १ भने २०८२ मा रिलिज गर्न तयारी भइरहेको छ। यस फिल्मको निर्देशन जोन योञ्जनले गर्नेछन्। यस सिनेमा निर्माणको घोषणा भने केही महिना अघि नै गरिएको थियो।
एक करोड ३० लाखमा निर्माण गरिएको पूर्ण बहादुरको सारङ्गी ले नेपाली बक्स अफिसबाट मात्र लगभग ५० करोड रुपैयाँको ग्रस कलेक्सन गरेको छ। नेपाल बाहिरबाट २५ देखि ३० करोड कलेक्सन गरेको बताइएको छ। यो नेपाली सिनेमाको इतिहासकै सबैभन्दा बढी कलेक्सन हो।
सक्सेस पार्टी मा सेभेन सिज सिनेमाको नयाँ लोगो पनि सार्वजनिक गरिएको थियो।