‘एक्टर: टेक वन’को ग्रान्ड प्रिमियर, कस्तो पायो त प्रतिक्रिया (फोटोफिचरसहित)

0 Shares

काठमाडौं – प्रतीक्षित नेपाली सिनेमा ‘एक्टर: टेक वन’को ग्रान्ड प्रिमियर सोमबार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा  भएको छ। झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो।

यस सिनेमा का अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइराला साथै अभिनेत्री द्वय अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो। आकर्षक तरिकाले हल रहेको भवनको पाँचौँ तल्लामा पुग्दा पत्रकारहरू र अन्य पाहुनाहरूको भिड थामिनसक्नु देखिएको थियो। हाल विभिन्न मिडिया र सामाजिक सञ्जालहरूमा उक्त भिडियोहरू भाइरल छन्।

नेपाली सिनेमा क्षेत्रका कलाकारहरू सहित विशिष्ट व्यक्तित्वहरू, सिनेमा निर्माण टोलीका सदस्यहरू, उनीहरूको पारिवारिक सदस्य तथा व्यापारिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति प्रिमियरमा देखिएको थियो। यो सङ्ख्याले यस सिनेमाप्रतिको उच्च प्रतीक्षालाई पनि झल्काएको छ।

सहिद दिवसको विशेष अवसर पारेर माघ १६ गते, बुधवार सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘एक्टर: टेक वन’को प्रिमियरको लागि यस सिनेमाका अभिनेता कोइराला अमेरिका देखि दुई दिनअघि मात्र नेपाल आएका थिए।

यस सिनेमाको प्रिमियर निकै उत्साहजनक क्षण बन्न पुगेको प्रतिक्रिया प्राप्त भइरहेको छ। प्रिमियरमा सिनेमा हेरेपछि उपस्थितले यसको विषयवस्तु, प्रस्तुतिमा नयाँपन र कलाकारहरूको उत्कृष्ट अभिनयको खुलेर प्रशंसा गरेका छन्। समग्रमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको यस सिनेमाका निर्देशक राजन भुसालको व्यापक तारिफ भएको छ। यो सिनेमा भुसालको पहिलो निर्देशकीय सिनेमा हो।

यस सिनेमाले प्रिमियरमा प्राप्त गरेको प्रतिक्रियाको आधारमा यसले नेपाली सिनेमा उद्योगमा नयाँ तरङ्ग ल्याउने विश्वास गर्न सकिन्छ र प्रदर्शनपछि पनि दर्शकको मन जित्ने प्रबल सम्भावना देखाएको छ। निर्माण पक्षले ‘एक्टर: टेक वन’लाई नेपाली सिनेमा उद्योगमा फरक छाप राख्ने र दर्शकको ठूलो साथ पाउने अपेक्षा गरेको छ।

यस सिनेमामा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। सिनेमाको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। यस अधृत फिल्म्स र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो सिनेमामा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्यूसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन्।

सम्बन्धित समाचार

सबै