
प्रदिप खड्का स्टारर ‘एक्टर: टेक वन’ सिनेमाको प्रदर्शन रोक्न काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश जारी गरेको छ।
अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।
निवेदक नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिका तर्फका कानून व्यवसायी यज्ञमणी न्यौपानेले अदालतको अन्तरिम आदेशको जानकारी दिएका हुन्। अदालतको वेबसाइटमा उक्त आदेश प्रत्यक्ष प्रकाशित गरिने उल्लेख छ।
मंगलबार, न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो।
‘एक्टर’ का निर्माताले ‘एक्टर: टेक वन’ को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए। राजन भुसाल निर्देशित फिल्म बुधबारदेखि प्रदर्शनको तयारीमा थियो।
दुबै फिल्मबीच नामलाई लिएर केही समयदेखि विवाद चलिरहेको थियो। दायर गरिएको रिटमा प्रतिलिपि अधिकार उल्लङ्घनको आधारमा उचित क्षतिपूर्ति माग गरिएको छ।
रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ। रिटमा भनिएको छ कि फिल्मको नाम हुबहु चोरी गरेर, मौलिक जस्तो देखिने तर कानूनी प्रावधानलाई उल्लङ्घन गर्दै नाम र कथावस्तु प्रयोग गरी गैरकानूनी कार्य गरिएको छ।
साथै, रिटमा ‘एक्टर: टेक वन’ लाई कुनै पनि विधि, पद्दति (चलचित्रघरमा, डिजिटल माध्यममा, टेलिभिजनमा) मार्फत प्रदर्शन नगर्नुपर्ने, र यसका लागि रोक्काको आदेश जारी गर्न माग गरिएको छ।