
‘जार’सिनेमाले प्रदर्शन मिति घोषणा गरेको छ ।
घोषणा अनुसार साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमाको वैशाख २६ गते रिलिज हुनेछ । यही मितिमा नविन चौहान निर्देशित तथा विपीन कार्की एवं मिरुना मगर स्टारर ‘ऊनको स्वीटर’ रिलिज हुँदैछ ।
पोस्टर सार्वजनिक गर्दै ‘जार’ निर्माण पक्षले आगामी वैशाख २६ लाई रिलिज मिति तोकेको हो ।
आज सार्वजनिक भएको पोस्टरमा प्रमुख तीन पात्रको चरित्रलाई प्रस्तुत गरिएको छ । सिनेमाले सन् १८ सयको दशक अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई बोल्छ ।
निर्माण ब्यानर फेरी टेल पिक्चर्सले निर्मित सिनेमामा सौगात मल्ल, अनुपबिक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको प्रमुख भूमिका छ ।
‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चित फिल्म फेस्टिभलमा समेत प्रदर्शित भइसकेका छन् । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन् ।
फूर्वा छिरिङ लामाको निर्देशनमा तयार यो फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ ।
होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
सरवानन इलावार्सुको छायांकन रहेको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत छ ।
नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ सिनेमा रिलिज हुनेछ ।
नेपालमा सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण गर्नेछन् भने अन्तर्राष्ट्रिय वितरकमा सेभेन सिज सिनेमाज रहेको छ ।