
नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) बीच मंगलबार लगानी व्यवसायमा पारस्परिक सहयोग र सहकार्यसम्बन्धी साझेदारी सम्झौता भएको छ।
भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजित एआईबीआईको १३ औं वार्षिक सम्मेलनका अवसरमा यो सम्झौता सम्पन्न भएको हो। नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी र एआईबीआईका अध्यक्ष महावीर लुनावतले उक्त सम्झौतामा हस्ताक्षर गरे।
सम्झौताअनुसार, भारत र नेपालका मर्चेन्ट बैंकरहरूबीच सीप विकास, व्यावसायिक क्षमता अभिवृद्धि, नैतिक मापदण्डको स्थापना, नियामक निकायसँगको समन्वय, र सूचना प्रविधिको विकासमा पारस्परिक सहयोग गरिनेछ। लगानीका नवीनतम प्रविधिको प्रयोगद्वारा क्षमता विकास र व्यावसायिक विस्तारमा यस सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
हस्ताक्षर समारोहमा सेबी (SEBI) की अध्यक्ष माधबी पुरी बुच, एआईबीआईका अध्यक्ष महावीर लुनावत, सेबीका पूर्णकालीन सदस्य अश्वनी भाटिया, कार्यकारी निर्देशक मनोजकुमार, एनएसईका प्रबन्ध निर्देशक तथा सीईओ आशिषकुमार चौहान, र बीएसईका प्रबन्ध निर्देशक तथा सीईओ सुन्दररमण आर लगायत अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
नेपाल मर्चेन्ट बैंकर्स संघका तर्फबाट अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठ, उपाध्यक्ष मनिषनारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त बहादुर पाण्डे, र सदस्यहरू लेखनाथ पोख्रेल तथा सन्दीप कार्की सहभागी भएका थिए।