‘फेरि रेशम फिलिली’का २ नयाँ पोस्टर : पासपोर्ट देखाउँदै गर्दा विनयलाई सुपुष्पाले किन ताकिन् बन्दुक?

0 Shares

गीत रिलिजको पूर्वसन्ध्यामा ‘फेरि रेशम फिलिली’ले दुई नयाँ पोस्टर रिलिज गरेको छ।

सिनेमाको पहिलो गीत ‘फेरि जाल्मा’ भोलि बिहीबार रिलिज हुँदैछ। सो गीतको अडियो-भिडियोको सानो झलक निर्माण पक्षले रिलिज गरिसकेको छ।

आज सार्वजनिक दुई पोस्टरमध्ये एकमा सिनेमाका तीन प्रमुख कलाकार विनय श्रेष्ठ, कामेश्वर चौरसिया, र सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ। पोस्टरमा विनयलाई भूँइमा पछारिएको अवस्थामा हातमा पासपोर्ट देखाइरहेको देख्न सकिन्छ, जबकि उनीमाथि अभिनेत्री सुपुष्पाले आक्रोशपूर्ण शैलीमा बन्दुक ताकिरहेकी छिन् र कामेश्वरले दुई हात जोडेर माफी मागिरहेको देख्न सकिन्छ।

यस्तै, पोस्टरको नेपथ्यमा नेपालको धरहरा र अमेरिकाको स्ट्याचु अफ लिबर्टी देखाइएको छ।

पोस्टरमा विनयमाथि सुपुष्पाले तेर्स्याएको बन्दुकको रहस्यमा नै सिनेमाको कथा बुनिएको बुझ्न सकिन्छ।

योसँगै, पोस्टर हेर्दा धेरै नेपालीको स्वप्न मुलुक अमेरिकाप्रतिको आशक्ति र आकर्षणलाई पारिवारिक तथा सामाजिक चक्षुबाट सिनेमाले नियाल्न खोजेको समेत बुझ्न सकिन्छ। हास्य रसमा प्रस्तुत गरिएको सिनेमाको कथा आफ्नो पूर्व सिक्वलझैं मनोरञ्जनको पूर्ण प्याकेज हुने अनुमान गर्न सकिन्छ।

त्यसैगरी, दोश्रो पोस्टरमा सिनेमाका अधिकांश कलाकारलाई अटाइएको छ। यो पोस्टरमा भने अभिनेता विनय आफ्नो पासपोर्ट हेरेर प्रफुल्लित मुद्रामा छन्। त्यसैगरी, सुपुष्पा र कामेश्वर पनि सोही मुद्रामा रहेका छन्।

उनीहरूको अतिरिक्त पोस्टरमा नीर शाह, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, एवनराज उप्रेती र मेक्सम गौडेललाई भिन्न-भिन्न मुडमा प्रस्तुत गरिएका छन्। उनीहरूको मुडले सिनेमाको रोचकतालाई दर्शकमाझ थप कौतुहल्तापूर्ण बनाउने विश्लेषण गर्न सकिन्छ।

यो सिनेमालाई निरज महर्जनले निर्देशन गरेका हुन्। सिनेमाको कथा पनि उनले नै लेखेका हुन्।

सिनेमामा विनय, सुपुष्पा, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ। यो सिनेमामा ‘रेशम फिलिली’ का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ। यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्दैछन्।

सम्बन्धित समाचार

सबै