
फागुनको १४ गते महाशिवरात्रीमा दिवाकर भट्टराई निर्देशित ‘मायावी’ रिलिज हुँदैछ।
सिनेमाका हालसम्म ३ वटा गीत र केही पोस्टर सार्वजनिक भइसकेका छन् । सार्वजनिक गीत र पोस्टरबाट दर्शकमा सिनेमाप्रति आकर्षण बढेको निर्देशक भट्टराईले महशुस गरिरहेका छन्। यसले उनमा उत्साहको संचार पनि गरिरहेको बताउँछन् ।
यसअघि ‘मेरो जीवन साथी, स्टूपिड मन, ड्रिम्स, क्याप्टेन’ सिनेमामा आफ्नो क्षमता प्रस्तुत गरिसकेका भट्टराईको रोजाइमा प्रेमकथाहरु नै छन्। उल्लेखित सबै सिनेमाले प्रेमकथा पस्केका छन् । यसपटक पनि प्रेमकथा नै ल्याइरहेका दिवाकर आफ्नो यो नयाँ रिलिजलाई आफूले भन्न खोजेको मनको कथा भन्छन् ।
त्यसैले ‘मायावी’लाई उनी यसरी व्याख्या गर्छन् ।
‘मायाबी भनेको शाब्दिक अर्थमा सुन्दर जाल हो । आकर्षण हो । मायाबाट दुनियाँ अलग रहन सक्दैन । मायाले नै संसार बाँधेको छ । यसैले, मायाको प्रतिक हो मायाबी । बाबु आमा, छोराछोरी, प्रेमी प्रेमिका नै किन नहोस् ? जो कोहीको पनि त्याग, जुनुन हुन्छ । मायाबीले यही कथा भन्छ ।’
दिवाकर प्रेम पाउनेको कथा भन्दा पनि त्याग्नेको कथा नै मजबुत हुने बताउँछन् ।
‘दुनियाँमा प्रेम पाउनेको कथा भन्दा पनि त्याग्नेको कथा नै मजबुत हुन्छ । पीडा पाएर पनि खुशी हुने पात्रको कथा हो मायावी । प्रेमको त्यही त्यागको कथामा हामीले फिल्म बनाएका छौं ।’
दिवाकर पोखराको सेरोफेरोमा खिचिएको एउटा सामान्य वर्गको परिवारको कथामा यो फिल्म बनाएको बताउँछन् । दिवाकरले अगाडि भने–‘पाएर गुमाउन सक्नुहुन्छ, तर गुमाएर पनि पाइरहनु मायाबी हो ।’
यसपटक दर्शकले फरक प्रेमकथा हेर्न पाउने उनी दाबी गर्छन् ।
‘खुशी र सुख भन्ने फरक कुरा हो । कहिलेकाही हामी जहाँ बाँचिरहेका छौं, सुख खोज्दा खुशी हराएको हुन्छ । सामान्य एउटा मानिस कुन परिवेशमा खुशी हुन सक्छन् र सुख अनुभुती गर्छ भन्ने कथामा यो फिल्म बनेको छ ।‘, उनले भने, ‘जीवनमा कुनै व्यक्ति नकारात्मक कुरा पनि खुशी हुनसक्छ । धनाढ्यका लागि पैसा कमाउनु खुशी होला, सामान्य व्यक्तिका लागि नयाँ कपडा किन्दा खुशी मिल्न सक्ला । हामीले यस्तै यस्तै कथा फिल्ममा भनेका छौं ।’
दिवाकर यो फिल्मबाट सन्तुष्ट छन् । किन सन्तुष्ट छन् त उनी ?
आफ्नो सन्तुष्टिलाई उनले यसरी व्याख्या गर्छन् ।
‘यो मैले मेरो मनबाट बनाएको फिल्म हो । म रोम कोम फिल्मको निर्देशक हुँ । मैले मनदेखि भन्न खोजेको कथा हो मायावी । यो कथा भन्न सक्छु भनेर नै मैले बनाएको हो । म मायावीबाट आफ्नो करिअर सुरु भएको मान्छु । यो दिवाकर भट्टराईले भन्न चाहेको कथा हो । मैले यसअघि बनाएका फिल्ममा मेरो कथा थिएनँ । मैले ती फिल्ममा एउटा निर्देशकको रुपमा काम गरे होला । म कस्तो निर्देशक हुँ भनेर यसबाट भन्न चाहन्छु ।’
उनले कोही नायक वा नायिका पूर्वतस्विर नराखी यसको कथा लेखेको बताए। लेख्दा उनको दिमागमा ‘जोय’ भन्ने थियो र उसैको सेरोफेरोमा रहेर उनले यो सिनेमाको कथा लेखे।
सिनेमाको व्यापारिक परिणाम जस्तो आउँला उनी त्यसलाई अंगिकार गर्न तयार बसेका छन् । बनेको सिनेमाबाट सन्तुष्ट भएकाले उनी यस्तो ‘चिल’ बनेका हुन् ।
सिनेमाले पोखराको सेरोफेरोमा रहेको एक सामान्य परिवारको खुशीको कथा पस्कने ‘मायावी’मा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय गरेका छन् ।
सिनेमा हेरेपछि दर्शकले प्रेमको परिभाषामा नयाँपन पाउने विश्वास निर्देशक भट्टराइको छ।