काठमाडौंमा छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

0 Shares

बिहीबारदेखि काठमाडौंमा ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौं संस्करणको शुभारम्भ भएको छ। महोत्सवको प्रारम्भ मोहन अभिलासी निर्देशित लघु चलचित्र ‘पालो’को प्रदर्शनसँगै भएको हो। यस वर्षको महोत्सवमा ४७ देशका ९८ चलचित्र फाइनलको लागि चयन भएका छन्, जुन सबै महोत्सवमा प्रदर्शन गरिने छन्।

महोत्सवको शुरुआत राईजिङ मलको क्युएफएक्स सिनेमा र चलचित्र विकास बोर्डमा गरिएको हो। उद्घाटन समारोह काठमाडौँको दरबारमार्गस्थित क्युएफएक्स राईजिङ मलमा आयोजना गरिएको थियो। महोत्सवको उद्घाटन बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले गरे। मन्त्री ठकुरीले यस्ता कार्यक्रमहरूले चलचित्रको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए।

महोत्सवको प्रशंसा गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले समारोहमा विदेशी चलचित्रकर्मीलाई खादा र टोपी लगाएर स्वागत गरेका थिए। उनले भने, “यस्ता महोत्सवलाई बोर्डले सधैं सहयोग गर्दै आएको छ।”

राष्ट्रिय निर्णायकका रूपमा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले पनि यस पटकका चलचित्रहरू उत्कृष्ट भएको बताए र विदेशी चलचित्रकर्मीलाई नेपालमा स्वागत गर्न खुशी व्यक्त गरे। महोत्सवकी विशेष अतिथि, नेपालकी प्रथम अभिनेत्री भुवन चन्दले पनि सबैलाई स्वागत गर्दै महोत्सवमा राम्रा चलचित्र हेर्ने अवसर पाएको बताइन्।

नेपाली मौलिक चलचित्रको प्रोत्साहनको लागि यो महोत्सव विगत ६ वर्षदेखि आयोजना हुँदै आएको महोत्सव अध्यक्ष सन्तोष सुवेदीले जानकारी गराए। यस पटक महोत्सवमा ३५ जना चलचित्रकर्मीहरू सहभागी भएका छन्।

यो महोत्सव शनिबार उत्कृष्ट चलचित्र, कलाकार, तथा प्राविधिकलाई अवार्ड प्रदान गर्दै समापन हुनेछ। उत्कृष्ट १५ ओटा राष्ट्रिय र १५ ओटा अन्तर्राष्ट्रिय चलचित्रलाई अवार्ड दिइने छ।

महोत्सवमा अन्तर्राष्ट्रिय तर्फ आठ जना विदेशी निर्णायकहरू छन्। निर्णायकहरूमा भारतका चलचित्र निर्देशक निपोन धौला, जर्मनीका चलचित्रकर्मी फाविन मात्थियस र इभिन बिराजी, बेलायतकी चलचित्र लेखक र निर्देशक लुईसा प्रिटोलानी, क्यानडाका चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानकी अभिनेत्री, लेखक र निर्देशक तिमा टाघिजादेह, बहराइनका चलचित्र निर्माता, निर्देशक र लेखक इभा दाउद, र रूसका चलचित्रकर्मी इरिना बेराजी रहेका छन्।

नेपालबाट निर्णायकको रूपमा वरिष्ठ संगीतकार र चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बासकोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, निर्माता र निर्देशक रौनक विक्रम कँडेल, निर्देशक दिनेश लिङदेन र टेलिभिजनकर्मी टिकाराम यात्री रहेका छन्। महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, मास्टर क्लास, कार्यशाला र कला प्रदर्शनी पनि आयोजना गरिएको छ।

सम्बन्धित समाचार

सबै