
चलचित्र विकास बोर्डले आज नवरस कक्षमा एक कार्यक्रम आयोजना गरी चलचित्रसम्बन्धी अध्ययन, अनुसन्धान तथा विद्वतवृत्तिका लागि प्रोत्साहनस्वरूप छात्रवृत्ति प्रदान गरेको छ।
कार्यक्रमका अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले छात्रवृत्तिको रकम सम्बन्धित कलेजहरूलाई हस्तान्तरण गर्नुभएको छ।
अध्यक्ष डिसीका अनुसार माध्यमिक तथा स्नातक तहका विद्यार्थीहरूलाई प्रदान गरिने यो छात्रवृत्ति ओस्कार इन्टरनेशनल कलेजका संयोजक नवनिधि दहाल, नेपाल फिल्म क्याम्पस तथा नेपाल संगीत विद्यालयका तर्फबाट प्रिन्सिपल शिशिर उप्रेती मार्फत हस्तान्तरण गरिएको हो।
यस छात्रवृत्ति कार्यक्रम सन् २०६१ सालदेखि सञ्चालनमा आए पनि अध्यक्ष डिसीको कार्यकालपछि माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि पनि छात्रवृत्तिको व्यवस्था गरिएको छ।
यसअघि विद्यावारिधि (PhD) तर्फ २ जना, स्नातक तर्फ १० जना, र सर्ट कोर्स का लागि २ जनालाई छात्रवृत्ति दिइँदै आएको थियो। तर, यस वर्षदेखि विद्यावारिधि तर्फ ३ जना, स्नातक तर्फ १३ जना, र माध्यमिक तहका ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको छ ।