दीपक रौनियार निर्देशित ‘राजागंज’को टिजर सार्वजनिक

0 Shares

निर्देशक दीपक रौनियारको निर्देशनमा निर्माण भएको सिनेमा ‘राजागंज’ को टिजर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गरिएको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने संकेत गरेको छ। टिजर रिलिजको पूर्वसन्ध्यामा सार्वजनिक सिनेमाका प्रमुख महिला पात्रहरूको लुक्सले पनि दर्शकमाझ प्रतिक्षा बढाएको थियो।

यस सिनेमामा सात जना महिला पात्रहरूलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ। कलाकारहरूको सूचीमा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्व मिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, र नीरज श्रेष्ठ लगायतका कलाकारहरू छन्।

सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठूला सिनेमा महोत्सवहरूमा प्रभाव जमाइसकेको छ। गत कात्तिक महिनामा मात्र पाँच वटा फिल्म फेस्टिभलमा यसको स्क्रिनिङ गरिएको थियो। विशेष गरी भेनिस फिल्म फेस्टिभलमा, सिनेमाले १० मिनेट लामो स्ट्यान्डिङ ओभेसन पाएको थियो।

प्रख्यात अमेरिकी पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकहरूको सूचीमा समावेश गरेको थियो। त्यस्तै, चर्चित ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रूपमा निर्देशक रौनियारको प्रशंसा गरेका थिए।

नेपालभरका सिनेमा घरहरूमा आगामी चैत १ गतेदेखि ‘राजागंज’ प्रदर्शन हुनेछ। नेपालमा यस सिनेमालाई टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रूपमा रिलिज गर्ने भएका छन्। सत्य घटनाबाट प्रेरित यो सिनेमा नेपाल-भारत सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई उद्धार गर्न प्रहरीले चलाएको खोजी अभियानको कथा मा आधारित छ।

यस सिनेमाको निर्माणमा आदि फिल्म्स तर्फबाट निर्देशक रौनियार, अभिनेत्री मगराती, बासुरी फिल्म्स तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई, तथा तन्हाउसर गेट तर्फबाट एलन आर. मिलिगनको सहकार्य रहेको छ।

 

सम्बन्धित समाचार

सबै